Logo

आयोगको अध्यक्ष बनेपछि देवी ज्ञवालीले प्रचण्ड र रेनुबारे यसो भने (भिडियोसहित)



काठमाडौं, ६ बैशाख। नवनियुक्त भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आफूलाई प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको साथ र समर्थन रहेको बताएका छन् । उनले पार्टी अध्यक्षद्धयले आफ्नो भूमिकाको उचित मूल्यांकन गरेर आयोगको अध्यक्षको जिम्मेवारी दिएको समेत स्पष्ट पारे । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले आफूले कार्यकालको अवधिभरि एक रुपैयाँपनि भक्ता नलिने पनि घोषाणा गरे । आफू काम गर्न आएकोले सफल भएरै छाड्ने पनि ज्ञवालीको विश्वास छ ।

ज्ञवालीले भनेका छन्,”नेपालको सन्दर्भमा विगत ७० वर्षदेखि नेपालका सबै राजनीतिक दलहरुले भूमिहीन, सुकुम्वासीहरुको समस्या समाधान गर्नुपर्छ भनेर चाहे जुनसुके चुनाव आओस् । चुनावका बेलामा घोषणपत्रका धेरै पानाहरु रंगिए । आयोगहरु पनि बने । १२, १३ वटा आयोग बनेछन् । तर, समस्या त ज्युँकोत्युँ छ । अबपनि यो समस्या समाधान गर्नुपर्छ । चुनाव आउँदा सुकुम्वासी सम्झिने । अनि चुनाव सकिएपछि सुकुम्वासीको स पनि उच्चारण नगर्ने । यो खालको स्थितिलाई हामीले कतिञ्जेल राख्ने ऋषिजी ? ” उनले आयोग गठनको प्रक्रिया कोरोना आउनुभन्दा अघि नै सुरु भएको पनि स्पष्ट पारे ।

उनले भने,”२०७६ चैत्र ९ गते मन्त्रिपरिषदले यो निर्णय गरेको रहेछ । लकडाउन कहिलेबाट सुरु भयो ? ११ गतेबाट सुरु भयो । आयोग गठनको विरोध गर्नुको कुनै अर्थ छैन् । अझै, नेपाली कांग्रेसले विरोध गरेको छ भनेर त मलाई विश्वास पनि लागेको छैन् । उसको घोषणापत्रमा सुकुम्वासीको समस्या समाधान गर्ने कुरा उल्लेख गरिएको छ ।”

पत्रकार धमलाले पार्टी नेतृत्वले तपाईको सही मुल्यांकन गरेको लाग्छ ? भन्ने प्रश्नमा उनले भने- “एकदम गरेको छ ।” भरतपुर महानगरपालिकाको मेयरको चुनाव हारेको तपाईलाई फलिफाप भयो भन्दा हुन्छ ? त भनेर धमलाले राखेको अर्को प्रश्नमा उनले प्रष्ट्याए,”त्यसो नभनौं । यो हारेर दिएको होईन नि । देवी ज्ञवाली भन्ने मान्छे जिम्मेवारी दिनुपर्ने मान्छे हो । हिजो मेयरको लागि दिन लागेका थियौं । विविध कारण भयो । अब त्यता फर्केर नजाऔं । रेनु दाहाल र मबीच राम्रो सम्बन्ध छ । उहाँ अब हाम्रो पार्टीको मेयर हो । उहाँलाई स्थापित गरिएन भने मेरो पार्टी कसरी स्थापित् हुन्छ ? मलाई प्रचण्डको सहयोग र साथ छ ।”



प्रतिक्रिया दिनुहोस्