काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोनाविरुद्धको लडाईमा वर्तमान सरकार संवेदनशील ढंगले अघि बढिरहेको स्पष्ट पारेका छन् । कोरोनाविरुद्ध वर्तमान सरकारले चालेका कदम सही भएको बताउँदै उनले नेपालले यो लडाईमा विजयी प्राप्त गर्ने पनि विश्वास दिलाएका छन् । शनिबार प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने, यो सरकारलाई प्रतिपक्षी दलसहित सबै पार्टीको राम्रो सहयोग छ । नागरिक समाजले पनि राम्रो सहयोग गरिरहेको छ । मिडियाले पनि सुचना र समाचार सम्प्रेषण गरेर सहयोग पुर्याईरहेको छ । भनेपछि सरकारलाई सहयोग गर्नेको संख्या ठूलो छ ।
उनले सरकार र पार्टीबीचको सम्बन्ध अहिले राम्रो रहेको पनि दाबी गरे । उनले भने,:हाम्रो ध्यान अहिले कोरोना रोकथाम तथा नियन्त्रणमा छ । अन्त अन्ततिर ध्यान लैजाने काम नगरौं । सरकारले काम गर्छ । सरकारले नगरे कसले गर्छ ? सरकार जिम्मेवार हुनुपर्छ ।” उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तीनै जनाबीच सम्बन्ध राम्रो रहेको पनि विश्वास दिलाए । उनले भने,”सम्बन्ध राम्रो छ । नहुने कुरै आउँदैन नि । यत्रो राष्टिय संकट परिरहेको छ । यस्तो बेलामा पनि हामी लडाई झगडा गरेर बस्ने हो ?”
तपाईको पार्टीभित्रैबाट सरकारको विकल्प खोज्न थालियो भन्ने समाचार आएका छन्, यसमा बास्तविकता के हो त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता नेपालले भने,”त्यस्तो केही पनि छैन् । त्यो अनावश्यक हल्लाको पछि जानुहुँदैन् ।” उनले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको लगायतका कुराहरु उठेकोले सरकारले यसबारेमा जवाफ दिनुपर्ने पनि सुझाए । FILE PHOTO