Logo

‘नगदमा किनेर उधारोमा सधैँ सेवा दिन सकिँदैन, कर्मचारी पाल्न गाह्रो भयो सरकार’: इन्टरनेट सेवा प्रदायक



काठमाडौँ ८ वैशाख : ग्राहकले इन्टरनेटको सेवा लिए बापत समयमा भुक्तानी नगर्दा इन्टरनेट सेवा प्रदायक समस्यामा परेका छन्। समस्या परेको भन्दै सेवा प्रदायकले नेपाल दूरसञ्चार प्राधिकरण गुहारेका छन्।

उनीहरूले ग्राहकबाट विद्युतीय माध्यमबाट सेवा शुल्क उठाउन पाउनु पर्ने भन्दै प्राधिकरणलाई पत्र लेखेका छन्। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले उक्त पत्र लेखेको हो।

यतिबेला सेवा प्रदायकले २४ सै घण्टा सेवा दिँदै आएको बताएका छन्। तर, उक्त सेवा लिए बापत ग्राहकले भने समयमा भुक्तानी नगरेको गुनासो गरेका छन्। ‘हामीले २४ सै घण्टा सेवा दिँदै आएका छौ तर, सेवा लिए बापत पाँच प्रतिशत ग्राहकले पनि भुक्तानी गरेका छैनन्’, इन्टरनेट सेवा प्रदायक सङ्घका एक अधिकारीले भने।

ग्राहकले भुक्तानी नगर्दा सेवा प्रदायक कम्पनीमा काम गर्ने कर्मचारीलाई समेत तलब खुवाउन हम्मे परेको सङ्घको भनाइ छ। ‘ग्राहकले पैसा नतिरे पछि केले तलब खुवाउने? अनि कसरी सेवा सुचारु गर्ने?’ ती अधिकारीले भने।

सरकाले पैसा लिन बन्देज लगाएपछि समस्या सिर्जना भएको उनीहरूको भनाइ छ। सरकाले यति बेला इन्टरनेटमा छुट दिन र शुल्क पछि लिन भनेको छ। तर सेवा प्रदायकले जहाँबाट इन्टरनेट सेवा लिएका छन् उनीहरूलाई भने निरन्तर भुक्तानी गर्नु परेपछि दोहोरो मारमा परेको बताएका छन्। ‘हामीले यहाँ निरन्तर सेवा दिनु परेको छ। जसको पैसा उठेको छैन। उता हामीले पैसा तिर्नु परिरहेको छ। यसरी कतिन्जेल धान्न सकिन्छ?’, अधिकारीले प्रश्न गरे।

सरकारले यता छुट देऊ भन्ने तर उता सेवाप्रदायकले तिर्ने ठाउँमा छुट गर्न पहल नगरेको उनीहरूको आरोप छ। उता पनि छुट दिन वा केही समय पछि तिर्न सक्ने गरी कुराकानी गर्नुपर्ने उनीहरूको तर्क छ। त्यसो नगरिए चाडै सेवा नै दिन नसकिने अवस्था आउने उनीहरूको भनाइ छ। उताका सेवा प्रदायकले ‘बैक खुल्लै छन्’ भन्दै रकम तिर्न बारम्बार ताकेता गरिरहेको उनले बताए। सोही कारण ग्राहकसँग विद्युतीय भुक्तानी लिन थालिएको उनीहरूको जिकिर छ। त्यसमा सरकार र सम्बन्धित निकायले समेत सहयोग गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

सेवामा छुट दिने विषयमा भने सेवा प्रदायकले शुल्क तिर्नै नसक्ने अवस्था भएकालाई छुट दिएको बताएका छन्। उनीहरूले यस अघि सरकारले छुट दिन भनेको आग्रहलाई स्वीकार गर्दै एक साता समयावधि थप गरिदिएको बताएका छन्। शुल्कमै छुट दिन नसकिने उनीहरूको भनाइ छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्