Logo

कैद मिनाहपछि सयौँ रोहिंज्या कैदीलाई रखाइन पठाइयो



८ वैशाख : म्यानमार सरकारले कोरोनाभाइरसको प्रकोपसँगै जेलमा भिडभाड हुँदा सङ्क्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै बाँकी जेल अवधि मिनाह भएका कैदीहरूमध्ये ८०० कैदीलाई म्यानमारको अल्पसङ्ख्यक रोहिंज्याहरूको वस्ती रहेको रखाइन राज्यमा फर्किने व्यवस्था गरेको छ ।

विभिन्न समयमा राज्यको हित विपरित हिंसामा सम्लग्न भएको वा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको अभियोगमा जेल जीवन विताउँदै आएका उनीहरूलाई राखाइन राज्यको सदरमुकाम सित्वेसम्म पुग्ने व्यवस्था प्रशासनले गरेको हो । उनीहरूलाई सोमबार नै आफन्तको जिम्मा लगाइएको छ ।

राष्ट्रपतिले म्यानमारको नयाँ वर्षको उपलक्ष्यमा दुई तिहाई जेल सजाय विताएका र कैदमा रहँदाको उनीहरूको व्यवहारका आधारमा बाँकी कैद मिनाह गरेका हुन् । कोरोनाभाइरस सङ्क्रमणको प्रकोपका कारण सरकारले अन्य वर्षभन्दा बढी कैदीको जेल सजाय मिनाह गरेको हो । सरकारले कैद मिनाह गरेका २५ हजार कैदीमध्ये ८०० कैदी रोहिंज्या समुदायका रहेका थिए । सरकारले एक हप्ता पहिले उक्त निर्णय गरेको भएपनि सोमबार प्रक्रिया पु¥याएर उनीहरूलाई घर फर्किने व्यवस्था गरिएको हो ।

उनीहरूलाई म्यानमारको राजधानी याङ््गुनबाट पश्चिमी रखाइन राज्यसम्म कडा सुरक्षासहित डुङ्गामा पठाइएको थियो ।

“कैदमिनाह भएका ८०० मध्ये ६०० जना सित्वेमा झरेका छन् भने बाँकी २०० जनालाई उनीहरूको गाउँको नजिक पर्नेगरी थप उत्तरतर्फ बङ्गलादेशसँगको सिमा क्षेत्रमा पठाइएको छ,” म्यानमारको रखाइन राज्यको अध्यागमन विभागका प्रमुख सोय ल्वीनले एएफपीलाई बताए ।

उनले भने, “उनीहरूलाई त्यहाँ क्वारेन्टाइनमा राखी सुरक्षित घर फर्काइने छ ।”

म्यानमारमा अहिललेसम्म १११ जनामा सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्क रहेको छ तर विज्ञहरूले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या योभन्दा कैयौँ गुणा बढी भएको हुनसक्ने बताएका छन् । उनीहरूले सङ्क्रमणको आशङ्का भएकामध्ये पनि थोरै व्यक्तिलाई मात्र परीक्षण गरिएकोले यो सङ्ख्या बढी हुनसक्ने दावी गरेका हुन् ।

म्यानमारमा रोहिंज्या समुदायले पुस्तौँदेखि रखाइन र वरपरका क्षेत्रमा रहँदै आएको बताए पनि त्यहाँका बहुसङ्ख्यक बौद्धमार्गीहरूले उनीहरूलाई म्यानमारमा गैरकानुनीरूपमा आएर बसेको भन्दै नागरिकको रूपमा सम्मान गर्न नसकिने बताउने गरेका छन् । आफ्ना अधिकारका लागि भन्दै रोहिंज्या समुदाय आन्दोलित भएपछि प्रशासन र उनीहरूबीच भएका हिंसात्मक झडपपछि करिब सात लाख ५० हजार रोहिंज्या समुदायका मानिसहरू बङ्गलादेश लगायत भारत र नेपालसम्म पुगी शरणार्थीको जीवन बिताउँदै आएका छन् ।File Photo रासस



प्रतिक्रिया दिनुहोस्