Logo

उत्तर कोरियाली नेता किमको जीवन खतरामा परेकै हो ?



एजेन्सी, ९ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उन १५ अप्रिलमा आफ्ना हजुरबुवा किम इल सुङको जन्मोत्सव कार्यक्रममा सहभागी नभएपछि शंका उब्जियो । उत्तर कोरियामा कम्युनिस्ट शासनको संस्थापक उनका हजुरबुवाको जन्मोत्सव भव्य रुपमा मनाउने गरिएको छ । तर, यसपटक उनी सहभागी भएनन् । त्यसको चार दिन अघि ११ अप्रिलमा उनी एउटा बैठकमा सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो । उनी महत्वपूर्ण कार्यक्रममा सहभागी नभएपछि चासो बढ्यो ।

प्रायः सार्वजनिक समारोहमा कमै देखिने किम महत्वपूर्ण कार्यक्रममा नदेखिएपछि खुफिया एजेन्सीहरुले त्यसबारे खोजी गरे । अहिले उनको जीवननै खतरामा रहेको सुचनाहरु बाहिर आएका छन् । उनको शल्यक्रिया भएको र जटिल स्वास्थ्य अवस्था भएकोबारे सँसारका शक्तिशाली देशका खुफिया एजेन्सीले खोजी गरिरहेका छन् । त्यसमध्ये अमेरिकी खुफिया एजेन्सी पनि पर्दछ । सीएनएनका अनुसार अमेरिकी खुफियाहरुले उत्तर कोरियाका नेता किम जोङ्ग उनको अवस्थाबारे गहिरोसँग निगरानी गरिरहेका छन् ।

किमको बारेमा जानकारी पाउन सजिलो भने छैन । कम्युनिस्ट शासकसँगको पहुँच नै कठिन छ । उनी कडा सुरक्षामा रहने गर्छन् । उत्तर कोरिया यसै पनि गोपनियता राख्न अब्बल छ । किम कमैको पहुँचमा पर्छन् । उनको सुरक्षाकर्मी आफैमा विशेष तरिकाले छानिएका हुन्छन् ।
दक्षिण कोरिया केन्द्रित उत्तर कोरियाको अलाइन पत्रिकार डेल्ली एनकेले किमको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको थियो । १२ अप्रिलमा खुलाइए अनुसार किमको मुटुसम्बन्धी शल्यक्रिया भएको छ । मोटो शरीरका किम मुटु रोगी भएको भनिएको छ । डेली एनकेका अनुसार किम निकै चुरोट पिउँछन् । उनी मोटो हुनु र बढी मानसिक काम गर्ने भएकाले मुटुको समस्यामा परेका हुन् । उनको उपचार ह्याङसानको एउटा भिल्लामा भइरहेको उल्लेख छ ।

किमको अवस्थामा केही सुधार भएपछि मेडिकल टिम राजधानी प्योङयाङमा १९ अप्रिलमा फर्किएको छ । केही मात्र त्यहाँ बसेका छन् । डेल्ली एनकेले वृस्तृत स्वास्थ्य अवस्थाबारे उल्लेख गरेपनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

दक्षिण कोरियाले भने यसबारे वृस्तृत विवरण प्राप्त नभएको खुलाएको छ । उनीहरुसँग किमको स्वास्थ्य अवस्थाबारे कुनै रिपोर्ट नभएको उल्लेख छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिन नचाहेको सीएनएनले उल्लेख गरेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्