काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य देवेन्द्र पौडेल बौद्धिक नेताको परिचय बनाउन सफल छन् । उनले नेकपाभित्रको पछिल्लो विवादको चिरफार गर्दै पार्टी फुटमा गए दुर्भाग्य हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कहीं कतैबाट भड्काउने क्रियाकलाप भए त्यो गम्भीर अपराध भएको समेत बताएका छन् । नेता पौडेलसँग सरकारले ल्याएको दुईवटा अध्यादेशको विषयमा ऋषि धमलाले गरेको विशेष कुराकानीः
प्रधानमन्त्रीबाट जसरी अध्यादेश आयो र राष्ट्रपतिले जारी पनि गरिसक्नुभयो, अब पार्टीभित्र यसले अन्तरकलह ल्याउँछ कि ल्याउँदैन ?
अहिले जनतालाई राहतको कुरा, जनतालाई परेका पीरमर्काको परिपूर्तिका कुरामा अध्यादेश ल्याएको भए धेरै राम्रो हुने थियो । अब त्यही पार्टीको सांसद, त्यही पार्टीको सरकारले ल्याएको अध्यादेश फेरि सम्माननीय राष्ट्रपतिबाट पारित भएर कानुन बनिसकेपछि अब सदनभित्र गएर छलफल चलाएर लागु गर्न सकिन्छ । अब यहाँ व्यक्तिगत रुपमा भन्छु यतिबेला हाम्रा सम्मानीय प्रधानमन्त्रीले कसको इसारामा यतातिर हात हाल्नुभयो थाहा भएन ।
अर्का अध्यक्ष प्रचण्डलगायत पार्टीभित्र छलफल भएको छैन ?
यसको बारेमा पार्टीभित्र पनि छलफल भएको छैन । अर्का अध्यक्ष प्रचण्डले पनि छलफल भएको छैन भन्नुभएको छ ।
प्रचण्डजीले के भन्नुभयो त ?
उहाँले यस्तो बेलामा सबै मिलेर जाऔं । अहिलेको बेलामा पार्टीलाई एकढिक्का बनाएर जाऔं भन्ने बारे शीर्ष नेताहरुबीच झन्डै अढाई तीन घण्टा उहाँहरुबीच कुराकानी भएको हो । उहाँहरुबीच राम्रो कुराकानी भयो भन्ने सूचना हामीले पनि पाएका थियौं । यद्यपि अन्य दलहरुले अप्ठ्यारो पारेहोलान् । यसको बारेमा पार्टीले पनि निर्णय गर्दैछ ।
प्रचण्डलगायत नेताहरुको प्रतिक्रिया आएको छैन ?
अहिले संसार नै कोरोनाको विरुद्ध लडेको बेलामा, सिंगो देश र जनताले प्रधानमन्त्रीलाई साथ दिएको बेलामा, अहिले यतिबेला अप्ठ्यारो परेको बेला घर जान पाए हुन्थ्यो, राहत पाए हुन्थ्यो भन्ने बाहेक कसैले पनि सरकारलाई असहयोग गरेको कुरा बाहिर आएको छैन । सबैले सरकारले लगाएको लकडाउन नमान्ने, सुरक्षा निकायले भनेको कुरा नमान्ने कसैले पनि गरेका छैनन् । यस्तो हुँदाहुँदै एक्कासी क्याबिनेटबाट यस्तो कुरा आउँदा राम्रो भएन ।
अहिलेको अवस्थामा सरकारले बजाएको बेमौसमको बाजा हो ?
यो भनेको अफसिजनमा लगाइएको खेती हो । यस्तो खालको खेती गर्ने सिजन अहिले होइन ।
यो अध्यादेश गलत समयमा आएको हो ?
हो, यो गलत समयमा आएको छ ।
प्रधानमन्त्रीले अन्य पार्टीका नेताहरुले काम गर्न दिएनन् भन्नुभएको छ नि ?
कसले दिएन ? अहिले सबैले सहयोग गरेका छन् ।
प्रचण्डले दिनुभएन रे नि ?
तपाईंकै कार्यक्रममा प्रचण्डले सरकारले राम्रो काम गरेको छ, ‘त्यसैले यो सरकारलाई म पाँच वर्षको लागि सहयोग गर्छु’, भनेर बोल्नुभएको होइन ? उहाँले हामी कसैलाई पनि सरकारलाई असहयोग गर भन्नुभएको छैन । सबैलाई सरकारको पक्षमा बोल, सरकारलाई सबैले सहयोग गरौं सफल बनाउनुपर्छ भन्नुभएको छ ।
प्रचण्डले त भित्रभित्रै सरकार ढाल्नलाई षड्यन्त्र गर्नुभएको छ रे बाहिर त्यही कुरा आएको छ त ?
त्यो बिलकुल होइन ।
प्रधानमन्त्रीका सल्लाहकारहरुको प्रतिक्रिया त्यही छ त ?
यदि त्यसो भनेका छन् भने त्यो मनोगत रुपमा प्रधानमन्त्रीलाई भड्काउने कुराबाहेक सल्लाहकारको केही होइन । वस्तुगत रुपमा प्रचण्डले कसैलाई उक्साए, भाँडेको कुरा नितान्त गलत हो । त्यस्तो खालको गलत अफवाहका पछि लागेर गइयो भने त हामी सही र सच्यार्ईंमा कहिल्यै पुग्नै सक्दैनौं ।
पूर्व एमाले र पूर्व माओवादी त आजबाट छुट्टियो, त्यो त मान्नुहुन्छ नि ?
त्यस्तो भावना बिलकुलै छैन । अहिलेसम्म त्यो चाहीं छैन, तर बनाउन खोजिएको छ । त्यो पक्षमा मै छैन । पार्टी एकता भइसकेपछि हामी नेकपा भइसकेका छौं । यो घटनापछि मैले पहिला महासचिवलाई फोन गरेँ । पूर्व माओवादी नेताहरुलाई गरेकै छैन ।
महासचिवले के भन्नुभयो त ?
मैले पार्टीभित्रैबाट केही हुनखोजेको हो भने पार्टी चाहिं बचाउनुपर्छ है भन्दा तलमाथि हुन दिन्न भन्नुभएको छ । माधव नेपालले पनि पार्टीलाई टुटफुट हुन दिन्नौं भन्नुभएको छ ।
तर, प्रधानमन्त्रीले त पार्टी फुटाउन सजिलो बनाइदिनुभयो नि ?
त्यो खेती अथवा त्यस्तो स्थिति आवश्यक परेको भए तापनि अहिले कोरोनासित लडिरहँदा स्वास्थ्यकर्मी, जनता र सुरक्षाकर्मीको मनोबल उठाउने र देशका सबै पार्टीहरुलाई अपिल गरेर जनतालाई सहयोग गर्नुहोस् भन्ने बेला हो । र, त्यहीं अध्यादेश जनतालाई परेको पीरमर्काको निम्ति जनतालाई राहत प्याकेज बाँड्न घोषणा गरिदिएको भए कति राम्रो र सान्दर्भिक हुन्थ्यो । अहिले त जनताले अपेक्षा गरेको त यो हो नि ।
आज पनि हजारौं जनता काठमाडौंबाहिर जाँदैछन् नि ?
हो, त्यतातिर ध्यान जानुपर्ने हो ।
त्यसको बारेमा चाहिं तपाईंंहरुले पहल गर्नुभएन नि ?
त्यहीबारेमा पहल गरौं भनेर अस्ति मात्रै १५, २० जना सांसद्हरु जम्मा भएर कोरोनासित लड्न बनेको उच्चस्तरीय समितिका संयोजकसहित हामी गएर प्रधानमन्त्रीलाई भेट्यौं । उहाँलाई सकडमा भएका, सीमानामा अलपत्र परेका र विश्वभरि रहेका ४३ लाखभन्दा बढी मान्छेहरुका बारेमा प्रधानमन्त्री, सभामुख र अन्य शीर्ष नेताहरुसित भेटेर हामीले कुराकानी गरेका छौं । कहाँ चुपचाप बसेका छौं र ।
यो अध्यादेश ल्याएर प्रधानमन्त्रीले ४० प्रतिशत पु¥याएर पार्टी फुटाउन प्रचण्डलाई बाटो खुल्ला गरिदिनुभयो सही हो ?
यो नेकपा यहाँसम्म ल्याउनको निम्ति ७० वर्षदेखि धेरै मान्छेले रगत, पसिना बनाएका छन् । यहाँले भनेको जस्तो फुटको कुरा मैले कल्पना पनि गरेको छैन, आशा गरौं । यस्तो अवस्थामा पनि सचिवालयले पार्टी नफुट्ने पहलकदमी लियोस् ।
दल विभाजनको अध्यादेश आइसकेपछि सबैको आशंका त त्यतै छ नि ?
त्यो आइसकेको छ, त्यो आशंका दिनुहुँदैनथ्यो । मैंले प्रधानमन्त्रीका सबै क्रियाकलापलाई समर्थन गरेर बोल्दाबोल्दै पनि यो विषयले झन् आशंका पैदा ग¥यो । यद्यपि बाहिर आएका छन्, अरु दलप्रति लक्षित हो, नेकपाप्रति होइन भन्दाभन्दै पनि त्यो आशंका देखिन्छ । अहिलेको अवस्थामा अरु दलहरुभित्र हामी किन प्रवेश गर्नु ? अहिले त कोरोनाकोविरुद्ध सबै एकजुट हुने बेला हो । अहिले दलहरुलाई फुटाउने कुरामा हात हाल्ने बेलै होइन । अहिले सबैलाई आउनुहोस् भन्ने बेला हो । आफैसँग दुई तिहाईको बल छ अनि यो बेलामा अरु कुन दललाई फुटाउँ, कुनलाई मन्त्रीमा ल्याऊँ भन्ने कुरा प्रधानमन्त्रीलाई सकैले सुझाएका छन् भने राम्रो भएन ।
प्रचण्डले माधवकुमार नेपाललाई लिएर सरकार ढल्ला लाग्नुभयो रे बालुवाटारको सूचना हो के भन्नुहुन्छ ?
यो चाहिं मनोगत सूचना हो । यो बीचमा मैंले महासचिवलाई पनि भेटेको छु । अझ धेरै पटक त ईश्वर पोखरेलजीलाई भेटेको छु । त्यसको साथसाथै प्रचण्ड र माधव नेपालसँग पनि भेटेको छु । त्यसका साथसाथै परराष्ट्रमन्त्रीसँग पनि हाम्रै पार्टीको बारेमा झन्डै एकघण्टा कुराकानी भएको छ । यी सबैतिरका सूचनाबाट यो सरकारलाई असफल र कमजोर पार्ने कुनै पनि रणनीति छैन । यदि कसैले प्रधानमन्त्रीलाई त्यस्तो कुरा कानमा हालिदिएको छ भने त्यो अपराधी हो ।
त्यो त हालिसकेका छन् नि ?
यदि कतैबाट पार्टी फुटाउने, पार्टीलाई तहनहत पार्ने र दिग्भ्रमित पार्ने सूचना प्रवाह भएको छ भने त्यस्ता तत्वहरुबाट सम्मानीय प्रधानमन्त्री सतर्क हुनुपर्छ ।
सरकारलाई असहयोग गर्न असंवैधानिक ढंगले प्रचण्ड लाग्नुभयो रे नि ?
आजका मितिसम्म कसैलाई पनि सरकारका क्रियाकलप विरुद्ध लाग्न एक शब्द भन्नुभएको छैन ।
प्रधानमन्त्रीले त अहिलेको अवस्थामा उच्चस्तरीय राजनीतिकि संयन्त्र बेमौसमी बाजा हो भन्नुभएको छ नि ?
कामकारबाहीमा एकरुपता, अभिव्यक्तिको स्वतन्त्रता भनेर लेनिनले भन्नुभएको छ र लडेर ल्याएको लोकतन्त्रले पनि त्यही भन्छ । हामीले पार्टी परिचालन गर्ने सिद्धान्त पनि त्यही बनाएका छौं । त्यहीमध्येबाट यो पनि एउटा विकल्प हुन सक्छ भन्नुभएको हो । फेरि केमिटीमा प्रस्ताव पनि ल्याउनुभएको छैन । उहाँले एउटा टेलिभिजन कार्यक्रममा यो गर्दा अझ प्रधानमन्त्रीलाई सजिलो हुन्छ भन्नुभएको हो ।
प्रचण्डले त म प्रधानमन्त्री भएको भए बनाउँथे भन्नुभयो नि ?
प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउँदा अझ सरकारलाई सजिलो हुन्छ भन्दा पार्टी फुट्छ ?
बहुमतको सरकार हुँदाहुँदै किन चाहियो त्यो असंवैधानिक संयन्त्र ?
ठिकै छ नि त सरकारले नै काम गरिरहेको छ भन्दा प्रचण्डले बुझिहाल्नुहुन्छ नि । हामी पनि बुझिहाल्छौं । लोकतन्त्रमा हामीले ‘बादेबाले जयन्ते तत्वबोध’ भन्ने उहिल्यैदेखिको पूर्वीय दर्शन पढेका छौं । यदि त्यो संयन्त्र बनाउनैपर्छ भन्ने भए प्रचण्डले कमिटिमा लगेर पेश गर्नुहुन्थ्यो होला ।
यदि प्रचण्डको प्रधानमन्त्रीसँग कुरा मिलेन भने के हुन्छ ?
अहिले उहाँहरु देवैजना पार्टीको अध्यक्ष हुनुहुन्छ । र अरु दुईजना पूर्व अध्यक्ष र महासचिव पनि हुनुहुन्छ । प्रचण्डजी पनि बीसऔं वर्ष अध्यक्ष चलाएर आउनुभएको हो । जिम्मेवार अरु नेता पनि हुनुहुन्छ । उहाँहरु यो पार्टी फुटाउने गरी खेल खेल्नुहुन्छ भन्ने मैले कल्पना पनि गरेको छैन । कम्युनिस्ट पार्टीमा विचार र दृष्टिकोण मिलेन भने सँगै बस्नुपनि हुँदैन । विचार र दृष्टिकोण फरक हुनलाई कनै मिटिङमा फरक डकुमेन्टमा बहस भएको छैन ।
यो अध्यादेश आइसकेपछि पार्टी विभाज जस्तै भइसक्यो नि ?
त्यस्तो बिलकुलै भएको छैन ऋषिजी ।
यदि प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नुभएन भने के हुन्छ ?
त्यो चाहीं प्रधानमन्त्रीले जवाफ दिने कुरा हो । यसमा पार्टीको कुरा गर्दा जनवादी केन्द्रियता लागु गर्नुपर्छ । मैले यो प्रधानमन्त्रीलाई मात्रै भनेको होइन दुवैजना अध्यक्ष र हामी सदस्यलाई जनवादी केन्द्रीयता लागु हुन्छ । अब प्रधानमन्त्रीय प्रणालीमा चाहीं प्रधानमन्त्रीले प्रस्ताव गरेको कुरा क्याबिनेटमा गइसकेपछि त्यो निर्णायर्थ प्रस्तुत भएको मानिन्छ र मुख्य सचिवले त्यसको माइन्युट उठाइसकेपछि अगाडि बढ्छ । यो अवस्थामा यो उद्देश्यको लागि ल्याइएको भनेर प्रधानमन्त्रीले कन्मिन्स गर्न सक्नुभयो भने सचिवालयका साथीहरु कन्मिन्स हुन सक्नुहुन्छ । होइन आगामी दिनमा साथीहरुलाई भ्रम नहोस् भनेर अरु साथीहरुले राखेको कुरा प्रधानमन्त्रीले सुन्नुभयो भने पनि मिल्न सक्छ ।
प्रधानमन्त्रीले कसैले भनेको सुन्नुभएन भने के हुन्छ ?
हामीले यो पार्टी फुटको कल्पना पनि गरेका छैनौं । यदि फुट्यो भने कम्युनिस्ट पार्टीलाई इतिहासमा निकै महंगो मूल्य चुकाउनुपर्ने छ ।
यो पार्टी फुट्यो भने सिस्टमै समाप्त हुन्छ ?
अब सिस्टमै समाप्त त एउटा पार्टीले गर्दा नहोला । तर, निकै प्रतिकुलता हुन्छ । किन यो पार्टीलाई नेपाली जनताले सुशासन र स्थायित्वका लागि दुई तिहाईको हैसियतमा पु¥याएका छन् । यसरी विश्वास गरेर दिएको मतलाई जोगाउन नसकेर, जनलाई आस्वस्त पार्न नसकेर, जनचाहनाअनुसार काम गर्न नसकेर साइडबाट आएका सूचनाबाट प्रभावित भए फुटतिर गइन्छ भने दुर्भाग्य हुन्छ ।