काठमाडौं ९ बैशाख । कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक ज्यालादारीका मजदूरहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ । हाँडीगाउँ पञ्चेश्वरस्थित आश्रमले गत १९ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, नैकापमा दैनिक मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको हो ।
जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूुरहरुलाई खाना खुवाउँदै गरेको खाना व्यवस्थापनका संयोजक महाराज योगी विश्वनाथ सन्त बताउँछन् । सन्तकाअनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।
वीर अस्पताल अगाडिको बस पार्कमा खाना खाँदै गरेका एक जना मजदूरलाई तपाईको घर कहाँ हो दाइ भनेर सोध्दा उनी कड्कदै भन्छन् किन चाहियो, मसँग सरकारले दिएको नाम, थर, ठेगाना सबै छन्, साखा सन्तान पनि छन् तर अहिले अप्ठ्यारो परेको बेला, भोकमरीमा खाना दिन नागरिकता छ भन्छन् ।
उनी भन्छन्–”सरकारले जानकारी नदिईकन लकडाउन लगायो, अहिले जागीर खान हिँडेको मान्छेलाई जसरी मजदूरलाई नागरिकता छ भने राहत, खान पाईन्छ नत्र पाईदैन भन्छन्, यि यस्तै साधु सन्तले दिएको खाना खाँदै दैनिक गुजारा गरिँदै छ । विहान कतिबेला खाना ल्याउँछ भनेर कुर्यो, बेलुका कति खेर ल्याउँछन भनेर कुर्यो खाना आउँछ खायो हिँड्यो ।”
उनी मुखमा गाँस हाल्दै भन्छन्–”चुनावका बेला कमाई रहेको मान्छेलाई बसमा कोची–कोची गाउँ लैजान्छन्, सरकार र नेताहरु भनेका आफ्नो स्वार्थका लागि त रहेछ नि ।” आश्रमले मजदुरहरुलाई मात्र होईन, खाना वितरण गर्ने बेला बटुवा, चना चट्पटे बेच्ने, सड्कमा भौतारिनेहरु, सबैलाई खाना खान बाँकी हो छ भन्दै खाना खुवाईरहेको दृश्य देखिन्थ्यो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम