काठमाडौं, बैशाख ११। संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको एकिकरण कार्यक्रममा शिर्ष दुई नेताको अनुपस्थीति रहस्यमय बनेको छ । संसदमा तेस्रो र चौथौ ठूलो दलका रुपमा रहेका पार्टीको एकिकरणको क्रममा राजपाका अध्यक्ष मण्डलका सदस्यद्धय अनिल झा र राजकिशोर यादवको अनुपस्थीति रहस्यमय बनेको हो ।
कार्यक्रममा राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिं भण्डारी मात्रै सहभागी भएपछि दुई नेताको अनुपस्थिीतिलाई रहस्यमय दृष्टिकोणबाट हेरिएको छ। एकिकरणको सहमतिपत्रमा दुई दलका ४ जनाको दरले नेताहरुले हस्ताक्षर गरेका छन् ।
राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिं भण्डारीले हस्ताक्षर गरेको सहमति पत्रमा समाजवादीका तर्फबाट डा बाबुराम भट्टराई उपेन्द्र यादव अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नेताद्धय अनिल झा र राजकिशोर यादवको अनुपस्थीतिले कुनै असर नहुने नेता महेन्द्रराय यादवको भनाई रहेको छ। उनले कुनै व्यक्तिगत कारणले अनुपस्थीति हुन नसकेको भएपनि पार्टी नै छाडेर जाने अवस्था नरहेकोसमेत दाबी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नियतलाई असफल पार्न पनि आफुहरु एकताबद्ध भएको बताएका छन् । तत्कालिन समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि रेडियो एनआरएनसंगको विशेष समयमा बोल्दै ओलीले जारी गरेको अध्यादेशका कारण पार्टी एकिकरणका लागि दवाव परेको प्रष्ट पारेका छन् ।
उनले एकताको तयारी धेरै पहिलादेखि भएपनि अहिले ओलीको भूमिकाले सजिलो बनाएको दावीसमेत गरेका छन् । दल फुटाउन संसदीय र दल र केन्द्रीय समितिमा ४० प्रतिशत चाहिनेमा एक ठाउँमा मात्र भए हुने व्यवस्था गरि प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि समाजवादी र राजपा फुट्ने अनुमान थियो। तर त्यो अनुमानलाई गलत सावित गर्दै दुबै दलहरुको एकिकरण भएको उनको भनाई छ।
आफूहरु नमिल्दा दुबै पार्टी फुटाई सांसदहरुलाई नेकपामा विलय गराउने योजना थाहा थाहा पाएपछि यि दुई पार्टी एक भएको समाजवादीका नेताहरुले बताएका छन् । एकिकरण पछि नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ भने पार्टीको एकिकरण समानताको आधारमा हुने घोषणा गरिएको छ । दुई दलका नेताले हस्ताक्षर गरेको सहमति पत्रमा झण्डा समाजवादीले प्रयोग गरेको र चुनाव चिन्ह राजपाले प्रयोग गरेको हुने उल्लेख छ ।