काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव स्वास्थ्यमन्त्री बनाइने आश्वासनपछि पार्टी विभाजनको लागि तयार भएको समूहमा आवद्ध भएको खुलेको छ । समाजवादी पार्टी फुट प्रयासमा सहभागी एक नेताका अनुसार यादवसँग महोत्तरीस्थित उनकै घरमा पुगेर कुरा भए अनुसार स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएपछि सहमत भएका थिए ।
विगतमा स्वास्थ्य राज्यमन्त्री भएका डा. यादवलाई फुल मन्त्री बनाउने भनिएपछि उनी खुशी भएर काठमाडौं आएको विश्वस्त स्रोतले जानकारी दिए । स्रोतले भन्यो, ‘उहाँलाई आज विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाएर मन्त्रीको टुंगो लगाउने तयारी भएको थियो । ‘
कोरोना भाइरसको महामारीसँग जुधिरहँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राम्रो भूमिका निर्वाह गर्न नसकिरहेको विश्लेषण समेत गर्दै चिकित्सक समेत रहेका डा. यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने गरी प्रधानमन्त्री ओली निकट नेताहरुले कुराकानी बढाएका थिए । यसमा बालुवाटारसँग पनि परामर्श गरेर यादवलाई भेट्न महोत्तरी गएको सांसद महेश बस्नेतले खुलाइसकेका छन् ।
स्वास्थ्यमन्त्री बनाइने आश्वासनपछि यादव निकै खुशी भएर आफन्तसँगै काठमाडौं आएर नक्शालस्थित होटल मेरियटमा बसेका थिए । त्यहाँ उनीहरुले असन्तुष्ट पक्षका सांसदहरुलाई भेला गरेर आज नयाँ पार्टी दर्ता गर्ने तयारी गरिसकेका थिए । तर, रातभरको गृहकार्यपछि समाजवादी पार्टी फुटबाट जोगिएको छ ।
यादव विहान डा. बाबुराम भट्टराईतर्फ लागिसकेका छन् । उनी नयाँ शक्ति पार्टीमा बाबुरामको साथमा थिए । पछि पार्टी परित्याग गरी समाजवादी पार्टीमा आवद्ध भई सांसद बनेका थिए ।-File Photo