Logo

नेकपाभित्र पूर्व माओवादी नेताहरुको ओलीलाई समर्थनको रहस्य



काठमाडौं, १६ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र पूर्व एमाले र पूर्व माओवादी खेमाको परिचय परिवर्तन हुने संकेत देखिएको छ । नेकपाभित्रको आन्तरिक विवादका क्रममा नेताहरु गुट परिवर्तनतर्फ लागेपछि यस्तो संकेत देखिएको हो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने पक्ष र विपक्षमा नेकपाभित्र ध्रुवीकरण भएको छ । केही नेताहरु खुलेर लागेका छन् भने केही भित्री रुपमा लागेका छन् ।

पूर्व माओवादीका केही प्रभावशाली नेताहरु अहिले ओली हटाउन नहुने पक्षमा उभिएका छन् । यसले नेकपाभित्रको गुट उपगुटमा समेत परिवर्तन ल्याउने भएको छ । विशेषगरी पूर्व माओवादीका केही नेताहरु ओलीको पक्षमा उभिएका छन् । स्थायी समिति सदस्य दिनानाथ शर्मा, लेखराज भट्ट र टोपबहादुर रायमाझी ओली हटाउनु हुन्न भन्ने पक्षमा उभिएपछि तरंग आएको छ । उनीहरुमध्ये भट्ट र रायमाझीले ओलीलाई हटाउँदा पार्टी र देश नै दुर्घटनामा पर्ने चेतावनी दिइसकेका छन् ।

ओली पक्षका नेकपा महासचिव विष्णु पौडेलबाहेक कोही पनि उनको गुट छाडेको अवस्थामा छैनन् । पौडेलले ओलीको विकल्प खोजेका नेताहरुसँग निकटता बढाइरहेका छन् । अर्कोतर्फ पूर्व माओवादी सचिवालय सदस्य रामबहादुर थापा बादल ओली पक्षमा देखिएका छन् । उनले ओलीलाई साथ दिइरहेका छन् ।

माधवकुमार नेपाल पक्षधरमध्ये स्थायी कमिटि सदस्य योगेश भट्टराई सरकारमा नै छन् । उनले ओलीको विपक्षमा जानसक्ने सम्भावना कम छ । बरु मध्यमार्गी बाटो खोज्ने सघन छलफलमा सहभागी भइरहेका छन् ।

घटनाक्रमले अहिलेको शक्तिसंघर्षले नेकपाभित्र पूर्व एमालेलाई सबैभन्दा विभाजित बनाएको छ । अर्कोतर्फ प्रचण्ड पक्षधरहरुमध्ये कतिपय ओलीको पक्षमा देखिएका छन् । यसले भविष्यमा नेकपाभित्रको गुट परिवर्तनको अवस्था बन्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्