काठमाडौं, १६ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले सरकारको आलोचना गरेका छन् । उनले सरकारले उल्टो काम गरेको र जनभावना विपरितको काम गरेको आरोप लगाए । उनीसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुको हिजोको बैठकको निर्णय ठ्याक्कै बताउनुस् त सानेपामा के के भयो ?
प्रतिपक्षमा रहेका पार्टीहरुको हिजो बैठक भएको थियो । त्यो बैठकले सरकारी पक्षका मान्छेहरु पार्टी फुटाउनलाई गरिएको अपहरण प्रयासप्रति घोर भत्सना गर्यो । त्यसमा जो दोषी छन् तिनलाई कारबाही हुनुपर्छ भन्ने माग गरिएको छ । सरकारद्वारा लकतन्त्रलाई समाप्त गर्ने, मुलुकमा अस्तिरता ल्याउनेलगायतका जुन प्रहारहरु भइरहेका छन् । त्यसकारण लोकतन्त्रको रक्षा, जनताको स्वतन्त्रता र रक्षाका लागि संघर्ष गर्ने प्रतिवद्धता गरिएको छ । अर्को महत्वपूर्ण कुरा भनेको जसरी अहिलेको कोभिड १९ बाटा जनताहरु पीडित छन् । तिनलाई राहत कसरी पुर्याउने । संक्रमितहरुलाई उपचार त्यसमा संलग्न चिकित्सकहरुको लागि सुरक्षा सामाग्रीहरु र राहतमा भएका भेदभावूर्ण व्यवहार सबैको छानविन गरी जनताको जीउधन र मुलुकको अर्थतन्त्रलाई कसरी जोगाउने हो । त्यतारित सरकारको ध्यान जाओस् आगामी दिनमा यी कुराहरु आउने गरी सरकारले काम गरोस् । यिनै कुरामा रहेर हिजोको बैठकमा छलफल भएका हुन् । आगामी बैठकमा प्रदेशसभामा रहेका प्रतिनिधिहरुलाई समेत राखेर छलफल गरिने छ ।
लकडाउनले देशभरका जनताहरु मर्कामा छन्, तपाईंहरुले यसलाई खुकुलो पार्नेबारेमा छलफल गर्नुभएको हो ?
लकडाउन हाम्रो वाध्यात्मक अवस्था हो । कोरोना भाइरसबाट जनतालाई जोगाउन एउटा अचुक उपाय सिद्ध भएको छ । त्यसैले यो आवश्यक थियो । अहिले पनि संक्रमण रहेको ठाउँहरुमा लकडाउन योभन्दा कडाईं गर्नुपर्छ । यसैले संक्रमणलाई रोकेको कुरा सत्य हो । तर, सधैं लकडाउनमा राख्न त सकिँदैन । त्यसको लागि सरकारले कुन ठाउँमा झन् कडाईं गर्ने हो र कुन ठाउँमा जहाँ संक्रमण छैन त्यहाँ अन्तको आवतजावतलाई रोकेर खुकुलो पार्ने हो कि भनेर अध्ययन गर्नुपर्छ । जनताको पनि त्योखालको माग छ ।
नेकपाभित्रै माधवकुमार नेपाल समूहको माग छ प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर प्रतिपक्षको माग क छ ? आजको आवश्यकता हो कि होइन ?
यो लकडाउनको बेलामा जनताले पाउनुपर्ने पर्याप्त सहयोग र सुविधा त्यसमा सरकारको ध्यान पटक्कै गएको छैन । ज्याला, मजदुरी गरेर खाने जनताहरु अहिले पनि पीडामा छन् । त्यतातिर सरकारले ध्यान दिनुपर्नेमा अहिले अर्कोतिर लागेको छ । कसरी कुर्सी जोगाउने ? अनि अन्य पार्टीलाई कमजोर बनाउने, लोकतन्त्रलाई प्रहार गर्ने । प्रतिपक्षहरु नचाहिने गरी तानाशाही हिसावले सरकार अगाडि जान लागेको हो । वर्तमान अवस्थामा सरकारले अलोकप्रिय कामहरु गरिरहेको छ । हिजो जनताले लोकतान्त्रिक मूल्यमान्यताको लागि संघर्ष गरेका थिए, त्यसको विरुद्धमा अहिले सरकारले काम गरिरहेको छ । अहिले लोकतान्त्रि पद्धति र समृद्धिको लागि मतदान गरेका थिए, आज त्यसको उपहास गर्ने काम सरकारले गरिरहेको छ । यो कुरा आमजनताले पनि उठाएको छ, प्रतिपक्षले पनि उठाएको छ । यतिसम्म कि नेकपाभित्र पनि यो सवालहरु उठिरहेको छ । त्यसकारण जुन पार्टी बहुमत ल्याएर सरकार बनाइरहेको छ । त्यो पार्टीले सोच्ने कुरा हो हामीले त भन्ने, दबाब दिने मात्रै हो ।
त्यसोभए प्रतिपक्षले यतिबेला प्रधानमन्त्रीको राजीनामा मागेको छैन ?
यो सरकारले जनताको पक्षमा राम्रो गतिलो काम गर्न सकेको छैन । अहिले पुरै उल्टोउल्टो काम गरेर अगाडि बढिरहेको छ । यसले सुरक्षा पनि दिन सकेको छैन, न्याय पनि दिन सकेको छैन । जनताले लामो संघर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई पनि जोखिममा पार्ने । यस्ता काम नेकपा र सरकारबाट भइरहेको छ । अहिलेसम्म प्रतिपक्षले राजीनामासम्म शब्द चाहीं प्रयोग गरेको छैन ।
अहिलेसम्म प्रधानमन्त्रीको राजीनामा प्रतिपक्षले मागेको छैन हो ?
अहिले ठ्याक्कै राजीनामा नै दिनुस् चाहीं भनिसकेको छैन । तर, आन्तरिक रुपमा चर्चा भइरहेको छ । आगामी दिनमा प्रदेश सरकारमा समेत रहेका पार्टीहरुलाई राखेर अझ विद्धान, बुद्धिजीवी, नागरिक समाजसँग बसेर हामी हामी छलफल गर्ने छौं । योभन्दा आगामी बैठकमा सबैसँग व्यापक छलफल र वार्ता गरेर प्रतिपक्षको तर्पmबाट सरकारलाई के गर्ने भनेर आगामी बैठकमा हामी केही गर्छौं ।
डा. सुरेन्द्र यादवको अपहरणको मुद्दा दर्ता भयो कि भएन, त्यसमा तपाईंहरु ब्याक हुनुभएको हो ?
यो सरकार काम न काजको भइसकेको छ । जनभावना अनुसार सरकारले काम गरेन भने जनताले बाटो खोज्छ । जनतालाई राहत पनि दिन नसक्ने, सुरक्षा पनि दिन नसक्ने, जनताको चाहना अनुसारको काम गर्न नसक्ने सरकारलाई साथ दिनुपर्छ भन्ने छैन । यस्तै हो भने जनताका बीच जानुपर्ने वाध्यात्मक अवस्था पनि आउन सक्छ । आगामी दिनमा हाम्रो जनता समाजवादी पार्टी पनि अगाडि बढ्छ र प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतका दलहरु पनि सरकारविरुद्ध निर्णय लिन वाध्य हुने गरी अगाडि बढ्न सक्छौं । साथै जनता समाजवादी पार्टी वैकल्पिक शक्तिको रुपमा आउने गरी अगाडि बढेको छ । जनताले खोजेको भूमिका अनुसार यो पार्टी अगाडि बढ्नुपर्छ । आगामी दिनमा एउटा वैकल्पिक शक्तिको रुपमा स्थापित हुने गरी अगाडि बढ्न हामी प्रतिबद्ध छौं ।