वैशाख १६, एजेन्सी । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढिरहेका बेला डरलाग्दो अनुमान सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ ।
आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो ।
आईआरसी प्रतिवेदनले भनेको छ, ‘विश्वभर कोरोना भाइरस संक्रमितहरुको संख्या ५० करोडदेखि १ अरबको बीचमा पुग्न सक्छ ।’
उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको समेत बताएको छ । अफगानिस्तान र सिरियाजस्ता युद्धग्रस्त देशहरुमा तत्काल लगानीको आवश्यकता रहेको दाबी गर्दै उक्त संगठनले यसका लागि समेत एकदमै छोटो समय रहेकोले अन्यथा भएमा संक्रमणले विनाश निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘द्वन्द्व प्रभावित र अस्थिर देशहरुमा संक्रमणका कारण करिब ३० लाख मानिसहरु मर्ने अनुमान छ ।’ महामारी रोक्न तत्काल लगानी र अन्य व्यवस्थापकीय कार्यक्रमहरुलाई तत्काल अघि बढाउन समेत आईआरसीले भनेको छ ।
अहिलेसम्म विश्वमा ३० लाख ५ हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमित देखिएका छन् भने २ लाख ५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।