समाचार विश्लेषणः महेश बस्नेतले त केपी शर्मा ओलीलाई गिरिजाप्रसाद कोइरालापछिका सशक्त नेता भनेकै थिए । हुनपनि गिरिजाप्रसाद कोइराला निकै खेल्न सक्ने नेता थिए । विरोधीलाई साइजमा ल्याउन जान्दथे । फकाएर, लोभ्याएर पनि नभए त्रास देखाउँथे, त्यसरी पनि नभए आफ्नो साथमा ल्याउँथे कि कमजोर पारिदिन्थे । अहिले केपी शर्मा ओलीले राजनीतिक गोटी यसरी नै चालिरहेका छन् ।
बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा उनले पार्टीभित्र र बाहिरका धेरै नेताहरुलाई त्रस्त पारेका थिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल मात्र नभई डा. बाबुराम भट्टराई समेत यो घटनामा मुछिन पुगे । उनीहरु कसैलाई मुद्दा त लागेन तर ओलीले त्रसित भने पारे । नेकपाभित्र ललिता निवास प्रकरणले माधव नेपाललगायत नेताहरुको बोली बन्द गर्न ओली सफल भएको चर्चा अझै सलाएको छैन ।
ओलीले आफूविरुद्ध एकढिक्का भएका पार्टीभित्रका नेताहरुलाई समेत डर देखाइरहेका छन् । उनले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई द्धन्द्धकालिन घटनाको हाउगुजी देखाइदिएका छन् । आइतबार अदालतले गरेको द्धन्द्धकालिन गम्भीर मानवअधिकार उल्लंघनको घटनामा आममाफी दिन नमिल्ने फैसला गरेपछि प्रचण्डलगायत पूर्व माओवादी समस्यामा परेका छन् । यसले ओलीलाई फाइदा पुगेको छ भने प्रचण्डलगायत पूर्व माओवादी नेताहरुमा डर पैदा भएको छ ।
अहिले ओलीको अगाडि दरिलोसँग उभिएर बोल्न सक्ने नेकपा वरिष्ठ नेता झलनाथ खनाल मात्र भएका छन् । हुन त माधवकुमार नेपाल ओलीविरुद्ध प्रस्तुत हुँदै कोटेश्वरमा बैठक समेत राख्न पुगे । तर, उनमा ओलीलाई कडा चुनौती दिने साहस रहेकोमा उनकै विश्वासपात्रहरुलाई पनि कमै विश्वास छ । माधव नेपाल पक्षका भीम रावल मात्र ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुनसक्ने नेताका रुपमा देखिएका छन् ।
वामदेव गौतमको राष्ट्रियसभामा जाने चाहनासहित संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था निर्माण गर्ने उद्देश्य छ । जसले यसलाई पूरा गर्छ उनको साथ त्यसैलाई हुन्छ । तर, गौतमलाई तत्कालिन नेकपा एमालेको महाधिवेशनमा पनि ओलीले फकाएकै हुन् । यसपटक पनि उनलाई फकाउने नीति ओलीले तयारी अवस्थामा राखेकै छन् ।
पार्टीभित्र मात्र नभई बाहिरका नेताहरुलाई पनि ओलीले फकाउने र तर्साउने गरेका छन् । उनका सल्लाहकार सुर्य थापाले देउवालाई वाइडवडीमा मुछिएको सुनकाण्डको शुरुवातकर्ता भनी आरोप त्यसै लगाएका छैनन् । देउवालाई तर्साउने प्रशस्त चीजबिज लिएर ओलीको किचन क्याबिनेट बसेको सन्देश दिइसकेका छन् ।
उपेन्द्र यादवको बोली नै चर्को सुनिदैन । उनलाई गौर हत्याकाण्डमा मुछ्ने त्रास देखाएकै हुन् । सुरेन्द्र यादव अपहरण भनिएको काण्डमा उपेन्द्रको बोली खासै चर्को छैन । जे जति बोलिरहेका छन् बाबुराम भट्टराई नै बोलेका छन् । तर, बाबुरामलाई पनि देखाइदिने भन्दै ओलीका विश्वासपात्रहरुले सार्वजनिक रुपमा त्यसै बोलेका छैनन् । यसरी ओलीले सबैलाई आश र त्रास देखाएर सत्ता सुरक्षित गरेका छन् ।