Logo

नवराज सिलवालको घोषणा : अबको गृहमन्त्री म, प्रधानमन्त्रीले सल्लाहकार टिम परिवर्तन गर्नुपर्छ (भिडियोसहित)



काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गृहमन्त्री बनाउँछु भनेको र आफूलाई त्यो जिम्मेवारी दिने विश्वास लिएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,”उहाँले सार्वजनिक रुपमै मलाई गृहमन्त्री बनाउने कुरा गर्नुभएको हो । उहाँ बोलेको कुरा पुर्याउने नेता हो । जुन दिन विश्वास गर्नुहुन्छ, त्यो दिन दिनुहोला ।”

आफूलाई गृहमन्त्री बनाईए त्यो भूमिका र जिम्मेवारी निर्वाह गर्ने क्षमतापनि आफूले राख्ने उनको दाबी छ । उनले भने,”मसँग गृहमन्त्रालय चलाउने क्षमता छ । मसँग राष्टिय तथा अन्तर्राष्टिय अनुभव छ । ल एण्ड अर्डरको ईस्युमा काम गरेको छु । प्रिन्सिपल लयर हुँ । त्यो ढंगले पोलिटिक्स बुझेको छु । रिजन बुझेको छु । ईन्टरनेश्नल बुझेको छु । भनेपछि मैले चलाउन नसक्ने भन्ने के छ र ? मेरो पार्टीको ममाथि आस्था भयो, पार्टीका नेताहरुलाई म माथि विश्वास भयो, प्रधानमन्त्रीलाई विश्वास भयो भने म मन्त्री हुन नसक्ने क्याण्डिेट त होईन नि ?”

उनले अहिलेको अवस्थामा प्रधानमन्त्रीको समृद्ध नेपाल, सुखी नेपाली नारा पूरा गराउनको लागि मन्त्रिमण्डल पूनर्गठन गरेर जानुपर्ने आफूहरुको प्रस्ताव भएको सुनाए । उनले भने,”हामीले प्रधानमन्त्रीलाई भनेका छौं कि नयाँ टिमसहित नयाँ ढंगले जानुपर्छ । जनतालाई एउटा उत्साह दिनुपर्छ नि । त्यो ढंगले प्रधानमन्त्रीले नयाँ टिम लिड गरेर जानुपर्छ । र, अहिले हाम्रो पार्टीलाई क्र्यास गराउन विभिन्न ईलिमेन्टहरुले खेलिरहेका छन्, हाम्रो आन्दोलनलाई क्र्यास बनाउन ढंगले विभिन्न खेलहरु भएका छन्, यो खेलबाट हामी माथि उठेर यो पार्टीलाई युनिफाईड गरेर सरकारलाई शक्तिशाली बनाएर जनताका आकांक्षाहरु पूरा गर्नुपर्छ ।” उनले अहिलेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो सल्लाहकार टिम पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्