काठमाडौं, १९ बैशाख । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हिजो (बिहीबार) साँझ रोल्पामा भएको बम विस्फोट र त्यसबाट भएको मानवीय क्षतिबारे छानबिन गर्न सम्वद्ध पक्षसँग आग्रह गरेका छन् । रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले शोक वक्तव्य जारी गर्दै घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।
पुनले आज एक वक्तव्य जारी गरेर भनेका छन्-“२०७७ वैशाख १८ गते साँझ रोल्पाको त्रिवेणी गाउँपालिका –४ गौरीगाउँ, मैतिगातिनामा भएको विस्फोटमा परी चार बालबालिकाहरु (त्रिवेणी–७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला खत्री, ५ वर्षीय विजय खत्री र त्रिवेणी–४ का १३ वर्षीय गौरव नेपाली) को दुःखद निधन भएकामा अत्यन्तै मर्माहत छु । यो दुःखद घटनाबाट आफ्ना परिवारका प्रिय सदस्य गुमाउनुपर्दा मर्माहत हुनुभएका शोकाकुल परिवारजनमा हार्दिक सवमेदना प्रकट गर्दछु । उक्त घटनास्थलमा सुरक्षाकर्मी, स्थानीय प्रशासन र जनप्रतिनिधिहरुले गम्भीर छानबिन गरिरहनुभएको जानकारी प्राप्त भएको छ । यस घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग समन्वय भइरहेको जानकारी गराउँदछु ।”