काठमाडौैं, १९ बैशाख । प्रधानमन्त्री बनाउने प्रस्तावपछि नेकपाका उपाध्यक्ष बामदेव गौतम कानूनी परामर्शमा जुटेका छन् ।
राष्ट्रियसभामा मनोनित भए आफु प्रधानमन्त्री बन्न सक्ने/नसक्नेबारे बरिष्ठ अधिवक्ता तथा केही नेताहरुसँग छलफल गरेका छन् । प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रिय सभामा मनोनित व्यक्ति मन्त्री बन्न नसक्ने संवैधानिक प्रावधान छ । राष्ट्रियसभामा मनोनित हुने एक पद रिक्त छ ।
प्रतिनिधिसभा हारेर पनि राष्ट्रियसभामा मनोनित भएर प्रधानमन्त्री हुन संविधान संशोधन गर्नुपर्ने हुन्छ । संविधान संशोधन गर्न संसदमा दुई तिहाई चाहिन्छ । अहिले सत्तापक्षसँग दुई तिहाई छैन । त्यसकारण उनलाई प्रधानमन्त्री बन्न सहज छैन । धेरैले वामदेवलाई यही सल्लाह दिएका छन् ।
कुनै सांसदलाई राजिनामा दिएर उनलाई उठाउनेबारे पनि बहस सुरु भइसकेको छ । यसअघि पनि पटक पटक यस्तो प्रयास भएपनि सफल भएको थिएन ।
आफ्नो राजिनामा माग भएपछि प्रधानमन्त्री ओलीले कोरोनाको समस्या सकिएपछि आफुले राजिनामा दिने र त्यसपछि बामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका थिए । अहिले अल्मल्याउन मात्र ओलीले यस्तो प्रस्ताव राखेको कतिपय नेताहरुको भनाई छ । यसबारे थप छलफल गर्न शनिबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकमा पेलेरै जाने प्रचण्ड -माधव नेपाल पक्षको तयारी छ । ओलीले पनि आफु निकट नेताहरुसँग यसबारे छलफल थालेका छन् ।-दृष्टिबाट