Logo

बामदेवको प्रधानमन्त्री बन्ने ढोका खुलेकै हो ?



काठमाडौं, २० वैशाख । अहिले अपराह्न ४ बजेका लागि बोलाइएको नेकपाको बहुप्रतिक्षित सचिवालय बैठकले नयाँ प्रधानमन्त्री बनाउने वा पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउनेबारे के निर्णय गर्ला ? सर्वत्र चासोको विषय बनेको छ ।

‘हिजो राति नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग कुरा गर्ने एकजना कानुनविद्का अनुसार उहाँहरु केपीको राजीनामा र वामदेव नेतृत्वको सरकारकै पक्षमा हुनुहुन्छ । तर, कानुनी जटिलता वा कानुनलाई गिजोल्दै ‘जसरी पनि वामदेव’ भन्ने रटानले पार्टीलाई अर्को क्षति गर्नेमा पनि प्रष्ट हुनुहुन्छ ।’

‘यी दुबै नेताको धारणा रह्यो, यदि बुधबारको सचिवालय बैठकमा उहाँले बोलेको कुरा कार्यान्वयन गर्नकै लागि थियो भने आज अपराह्नको बैठकमै प्रधानमन्त्री ओलीले राजीनामा घोषणा गर्नुपर्छ । र,भोलि नै वामदेवलाई वरिष्ठ उपप्रधानमन्त्री नियुक्त गर्दै कार्यवाहक प्रधानमन्त्रीको अधिकार दिनुपर्छ । ६ महिनाभित्र (डेढ महिनामै सम्भव छ) वामदेवले कुनै क्षेत्रबाट चुनाव जितेर संसद छिर्नुपर्छ । र, उहाँ कन्फर्म प्रधानमन्त्री बन्नुपर्ने हुन्छ । नत्र,अर्को उपायबाट वामदेवलाई प्रधानमन्त्री बनाउन खोजियो भने झन्झन् जटिलता थपिनेछन् ।’

राति प्रचण्ड र झलनाथसँग कुरा गर्ने ती वरिष्ठ अधिवक्ताले सुनाए, ‘संघीय संसदको दुई तिहाई बहुमतबाट संविधान संशोधन त गर्न सकिएला,तर दुबै सदनको बैठक कसले बोलाउने ? यसबारे संविधानमा कुनै व्याख्या र परिभाषा छैन ।’ उनको तर्क छ, ‘मानौँ, त्यस्तो संयुक्त बोलाएर एउटा कुरा पारित पनि होला । तर, भोलिपल्टै एकथरि अरिंगाल मुद्दा बोकेर सर्वोच्च जान तम्तयार छन् । किनभने,यस्तो स्थितिबारे सोची–विचारिकन अदालतमा कुरा चलाइसकिएको छ ।’ पार्टीको बहुमतले निर्णय गरी सरकार छाड्न लगायो भने पुनः अध्यादेश जारी गराएर ४०% पुर्याई पार्टी फुटाउने,अख्तियार लगाएर ललिता निवास प्रकरण र लडाकूको पारिश्रमिकसम्बन्धी फाइल खोली माधव र प्रचण्डलाई सताउने तयारी पनि ओली क्याम्पले शुरु गरेको गृहमन्त्री रामबहादुर थापा बादलसङ्ग सूचना छ !

यस्तो कानुनी जटिलतालाई हल गर्ने सुझाव छ, सरकारले मस्यौदा गरिरहेका अनेकन कानुनलाई व्यवस्थित गर्ने काममा जुटेका अर्का पूर्वप्रशासकको ।

अरु कुनै क्षेत्रबाट वामदेवले चुनाव उठेर जित्छु भन्नेमा ढुक्क हुनु गलत हुने कारण प्यूठानमा उहाँकै सहयोगले जितेकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेललाई तत्कालै राजीनामाका लागि तयार पार्ने ।  उहाँलाई भोलिपल्टै राष्ट्रियसभामा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गराउने । बरु, सरकारमा मन्त्री पनि बनाइदिने । र, त्यहाँबाट चुनाव जितेर वामदेव प्रधानमन्त्री हुने ।

सम्भावना छ- मानबहादुर चौधरीलाई बर्दिया ४ बाट राजीनामा गराउने वा दलबहादुर रानाले पल्पाको आफ्नो क्षेत्रबाट उहाँलाई जिताउने । तर, यी दुबै जोखिमयुक्त विकल्प हुन् । उहाँको हकमा प्यूठानभन्दा सुरक्षित क्षेत्र देशभर कतै पनि छैन । किनभने, अन्यत्रका हकमा त्यहाँका सांसदले राजीनामा दिएका दिनदेखि मतदान हुँदाका दिनसम्म भात–पानी छाडेर हराउने भूमिकामा लाग्ने मान्छेहरु सक्रिय भइहाल्छन् ।
अन्यथा, वामदेवजस्तो मान्छेले न्यायिक र कानुनी प्रणालीलाई भत्काएर प्रधानमन्त्री बन्न नसुहाउने ती पूर्वप्रशासकको मान्यता छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्