काठमाडौं, २२ वैशाख । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । यसका लागि उनलाई कुनै एक निर्वाचन क्षेत्रको सिट खाली गर्नुपर्ने हुन्छ । बामदेवलाई प्रतिनिधिसभा सदस्य बनाउनुको पछाडि उनलाई प्रधानमन्त्री बनाउन १७ वैशाखमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव पनि कारण हो ।
तर, बामदेवलाई प्रधानमन्त्री बन्ने त के प्रतिनिधिसभा सदस्य समेत बन्न नदिने दाउपेच शुरु भइसकेको घटनाक्रमले देखाएको छ । प्रचण्डनिकट नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बामदेव प्रधानमन्त्री बन्ने विषय हाँसीमजाक भएको बताएका छन् । उनले ऋषि धमलासँगको अन्तवार्तामा भनेका छन् ,बामदेव जस्तो नेता हाँसीमजाकको पात्र बन्नुहुन्न । उनको आशय बामदेव यो प्रतिनिधिसभाबाट प्रधानमन्त्री बन्दैनन् भन्ने हो ।
माधवकुमार नेपाल निकट स्थायी समिति सदस्य डा. वेदुराम भुषालले पनि बामदेव प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । उनले ऋषि धमलासँगको अन्तवार्तामा यो प्रतिनिधिसभाबाट कुनै हालतमा सांसद समेत बन्न नसक्ने तर्क गरे ।
बादेवका लागि सम्भावित सिट खाली गर्ने विषय आफैमा विवादमा परेको छ । पाल्पा १ मा दलबहादुर राना मगरले छाड्ने विषय पनि कठिन भइसकेको छ । रानाले यसको प्रतिवाद गरिसकेका छन् ।
बामदेवले यो प्रतिनिधिसभाबाट चुनाव लड्नका लागि सिट खाली नै चुनौती बनेको छ । तर, कतिपयले सिट खाली गरिदिने समेत भनेका छन् । भन्न सजिलो तर गर्न नै कठिनको अवस्था पनि छ ।