काठमाडौं, २४ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीभित्रको विवादलाई छलफल र बहस हुनु नौलो कुरा नभएको स्पष्ट पारेका छन् । उनले भने, पार्टीमा कहिलेकाहीँ बहसहरु छन् । छलफल हुन्छन् । जीवन्त पार्टीमा वैचारिक छलफलहरु भैरहन्छन् । उनले अहिले देशका सबैको ध्यान कोरोना महामारीविरुद्ध हुनुपर्ने पनि तर्क गरे ।
मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीभित्रका हरेक खाले समस्याहरु आपसी समझदारीका कारण हल गर्दै जाने विश्वास दिलाए । उनले भने,”अहिलेसम्म त्यसैगरि हल हुँदै आईरहेको कुरा हो, अब हल हुँदैन भन्ने कुरा हुँदैन्।” उनले आफू कसैको पनि क्याम्प नभएको भन्दै विचारको क्याम्पमा, पार्टीको क्याम्पमा रहेको जवाफ दिए । उनले भने,”व्यक्तिको पछि लाग्ने भनेर पार्टीमा लागेकै होईन् । पार्टी भनेको सिद्धान्त र विचार हो । व्यक्तिको मामला होईन् ।”