वैशाख २७, काठमाण्डौ । उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको उनको स्वाब नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमण देखिएकी महिला ४३ वर्षकी हुन् । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ ।
यसअघि शनिबार बिहान भुल्केकै १८, ४५ र ६५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्ये विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको थियो । अरु परीक्षण अझै सकिएको छैन ।
भुल्केमा हालसम्ममा ६ सय ९५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । वैशाख ५ गते भुल्केको नुरी मस्जिदमा बसेका ११ भारतीय र १ नेपालीसहित १२ जनामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
आज साँझ एक जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।
नेपालमा अहिलेसम्म कूल ७२ हजार २ सय ३९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म १६ हजार ३ सय ९ जनाको पिसीआर परीक्षण र ५५ हजार ९ सय ३० जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको छ ।