काठमाडौं, २९ वैशाख । गत हप्ता चिनियाँ नागरिक लकडाउनको उल्लंघन गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरीले उल्टै कुटाई खानु परेको थियो । लकडाउनमा खटिएका प्रहरीको आँखा छल्दै ती चिनियाँ नागरिक सिंहदरबार अगाडि पुग्नु र पक्राउका लागि पुगेको प्रहरीलाई कुट्न पनि सक्नुले सर्वसाधारणलाई समेत गम्भीर बनायो ।
सिंहदरबारमा पुगेर नेपाल प्रहरीलाई कुटपिट गरी घाइते बनाउने चिनियाँ नागरिकहरु आफ्नो देशमा जान प्रदर्शन गर्दै थिए । लकडाउनका बखत अर्काको देशको मुख्य प्रशासनिक केन्द्रको मुल गेट अगाडि प्रदर्शन गरी प्रहरीलाई समेत हात हाल्न पुगेका चिनियाँ नागरिकको हिम्मत र हेपाहा प्रवृत्तिलाई लिएर सरकारको आलोचना भएको छ । नेपाल प्रहरीको जिम्मेवार निकायमाथि यसबारे प्रश्न उठेको छ । प्रहरीको मनोबल गिर्ने गरी विदेशीले नेपालमा आएर हातपात गर्नुले सर्वसाधारणलाई चिढ्याएको छ ।
चिनियाँ नागरिकले सिंहदरबार अगाडि नेपाल प्रहरीलाई हात हालेको घटनाले पाँच महिना अगाडिको प्रहरी कारबाही सम्झाएको छ । प्रहरीले नेपालमा ठगी धन्दामा संलग्न १२२ जना चिनियाँ नागरिकलाई पुसको पहिलो साता केही घन्टाका अन्तरालमा पक्राउ गरेको थियो । उनीहरु बस्दै आएको स्थानहरुमा छापा मारेर पक्राउ गरी कारबाही चलाएको थियो । पछि ती चिनियाँ नेपालबाट निकाला भए ।
पर्यटक भीसामा नेपाल आएका र कतिपयको राहदानी समेत नभेटिएको तथ्य पत्ता लागेको थियो । प्रहरीको यो अपरेशन हालसम्म सबैभन्दा बढी विदेशी नागरिक एकैपटक पक्राउ परेकोमध्ये एउटा घटना थियो । त्यसमाथि आपराधिक कार्यमा संलग्न चिनियाँ नागरिकहरुलाई ठाउँ ठाउँमा छापा मारी समातिएको थियो । पुसको पहिलो हप्ता प्रहरीले यति ठूलो अपरेशन गरी वाइ वाइ पाएको थियो ।
अहिले प्रहरीले सिंहदरबार अगाडि चिनियाँ नागरिकबाट कुटाई खाएको छ । त्यो पनि लकडाउनका बेलामा प्रदर्शन गर्न पुगेकालाई नियन्त्रणमा लिन खोज्दा । यसले प्रहरी नेतृत्वको समेत चर्को आलोचना भएको बुझिएको छ ।