काठमाडौं, ३१ वैशाख । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको घुष प्रकरणको टेप बाहिर ल्याएका विजयप्रकाश मिश्रले अज्ञात समूहले आफ्नो घरको फोटो खिचेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौं र प्रहरीकहाँ उजुरी दिने तयारी गरेका छन् । मिश्रले आफ्नो टोखा नगरपालिका ११ नम्बर वडास्थित् बैकुण्ठपुरीमा रहेको घरमा हिजो (मंगलबार) अपरान्ह पौने १२ बजे चार जना मान्छे मोटरसाईकमा आएको र घरको करिब दश वटा तस्विर खिचेको र विजय प्रकाश मिश्रको घर यही होईन ? भनेर घरनजिकै सडकको ढल निर्माण गर्ने युवाहरुलाई सोधेको उल्लेख गर्दै आफू र आफ्नो परिवारका सदस्यहरुको ज्यानको सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा निवेदन दर्ता गर्न लागेको जनाएका छन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा मिश्रले भने–“यो हिजोको घट्ना हो । मेरो घर भएको ठाउँलाई बैकुण्ठपुरी भन्छ, यो काठमाडौंको सामाखुशी, टोखा नगरपालिका-११ नम्बर वडामा पर्छ । हिजो चार जना मान्छे मोटरसाईलकमा आएका थिए । दुई जना भारतीय मूलका छन् । घरको तस्विर दश वटा जति खिचेका छन् । उनीहरु पौने १२ दिउँसो आए । मेरो घरको बाटो नजिकै ढल निर्माण गरिरहेका भाईहरुले किन फोटो खिचेको भनेर सोधे । विजय प्रकाश मिश्रको घर यही होईन भनेर पनि उनीहरुले ती कामदार भाईहरुलाई सोधेका थिए । सगरमाथा अञ्चलको नामको नम्बर प्लेट भएका मोटरसाईकलमा उनीहरु आएका थिए । मेरो श्रीमतीले घरको गेटबाट बाहिर निस्किएर को मान्छे रैछन् भनेर पहिचान गर्न खोज्दा उनीहरु भागे ।”
उनले पछिल्लो समय आफूलाई बाँस्कोटाका मान्छेहरुले विभिन्न किसिमका प्रलोभन र दबाबपनि दिईरहेको सुनाए। उनले सुनाए–“उनीहरुले मलाई प्रस्ताव पठाईरहेका छन् । तीन–चार वटा प्रस्ताव आईसकेका छन् । यो उनीहरुले रचेको षड्यन्त्र हो । गोकुल बाँस्कोटा, सांसदहरु प्रेम बहादुर आले र सूर्य पाठक, सुरक्षा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, र मेरो बारेमा सूचना दिने र घर देखाउने चित्रबहादुर कुताल र उनका भाई घन बहादुर कुताल जो लमजुङ सुन्दरबजार नगरपालिका वडा नम्बर ७ मा नायव सुब्बाको रुपमा कार्यरत छन् । उनले नै मेरो सम्पूर्ण ठेगाना र वतनको बारेमा गोकुल बाँस्कोटालाई जानकारी दिएका थिए । उनीहरुकै यसमा संलग्नता छ भन्ने मेरो आशंका हो । म र मेरो परिवारको ज्यानको सुरक्षाको माग गरेर म निवेदन दिने तयारीमा छु ।”
आफूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा, राष्ट्रिय मानव अधिकार आयोग, नजिककैको प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पनि दिने निवेदन दिने तयारी गरेको मिश्रले जनाए । उने भने,–“यो मलाई नै मार्ने किसिमले गरेको नियोजित षड्यन्त्र हो भन्ने लागेको छ । सांसदहरु जो सार्वजनिक लेखा समितिका सदस्यहरु पनि हुन सूर्य पाठक र प्रेम बहादुर आले । र पूर्वमन्त्री गोकुल बाँस्कोटाको यसमा हात छ ।” यसअघि मिश्र र सांसदद्धय पाठक र आलेबीच नै सार्वजनिक लेखा समितिको बैठकमा चर्काचर्की परेको थियो । मिश्रले यसअघि आफ्नो चारित्रिक हत्या गर्नको लागि विकल पौडेल, सांसदद्धय पाठक र आले र पूर्वमन्त्री बाँस्कोटा हात धोएर लागिपरेको पनि आरोप लगाएका छन् । File Photo/Prime Times TV