काठमाडौं, १ जेठ । पर्साका सिडिओ विष्णु कुमार कार्कीले वीरगन्जमा रहेको नेश्नल मेडिकल कलेजले कोरोना संक्रमण देखिएका विरामी भर्ना गर्न नमाने बन्द गर्ने चेतावनी दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा सिडिओ कार्कीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय पर्सामा संक्रमणको संख्या बढिरहेको सुनाए । उनले भने, पछिल्लो अवस्थामा पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजोमात्रै तीन जनामा देखिएको छ । एक जना स्वास्थ्यकर्मीपनि संक्रमित भएको अवस्था छ । अहिले संक्रमितको संख्या ८५ पुगिसकेको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि हिजोदेखि हामीले निषेधाज्ञा पनि जारी गरेका छौं । अत्यावश्यक सेवादेखि बाहेक हामीले सबै बन्द गरेका छौं ।
कोरोना विशेष अस्पतालहरुले राम्रोसँग काम नगरेको भनेर जनगुनासो आएको हो ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, नारायणी अस्पताललाई हामीले कोरोना विशेष अस्पताल बनाएर सञ्चालित छ । तर, नारायणी अस्पतालको क्षमता लगभग अब पूरा भैसकेको छ । अब संक्रमितहरुको संख्या बढिरहेको छ । नारायणी अस्पतालको क्षमताले अब धान्न सक्ने अवस्था छैन् । यो अस्प्तालले नधाँनेपछि हामीले हिजोदेखि संक्रमितहरुलाई एउटा विद्यालयमा आईसोलेशन बेड तयार गरेर उपचार सुरु गरेका छौं । हामीले सिद्धार्थ विद्यालयमा आईसोलेशन तयार गरेर हिजै उपचार सुरु गरेका छौं ।
आफूहरु अर्को कोरोना विशेष अस्प्ताल बनाउनेगरि गण्डक अस्प्ताललाई तयार गर्न लागेको पनि उनले सुनाए । उनले भने, गण्डक अस्प्ताललाई गर्ने भनेर स्वास्थ्य मन्त्रालयबाट निर्देशन भएर आएको छ । गण्डक पनि निजी नै हो । महानगरको खर्चमा गर्ने भनेर कुरा आएको छ ।सम्भवतः आज यो अस्पताल खाली हुन्छ । अनि विद्यालयमा उपचार गराएका संक्रमितहरुलाई त्यहाँ सार्छौं ।
उनले नेश्नल मेडिकल कलेज ठूलो कलेज भएकोले उक्त अस्प्ताललाई कोरोना विशेष अस्पताल बनाउनेगरि आफूहरुले छलफलसमेत गरेको सुनाए । कार्कीले भने,हामीले उहाँहरुसँगपनि छलफल गरेको हो । तर, तत्काललाई कोरोना अस्पताल बनाउन सहमति नदिएको हुनाले त्यो बन्न सकेको छैन् । नेश्नल मेडिकल कलेजलाई हामीले पटक पटक भनेका हौं । उहाँहरु तयार नभएपछि हामीले नारायणीलाई गरेको हो । नारायणीले पनि नभ्याउने भएपछि तत्काललाई हामीले गण्डक अस्पताल निर्णय भएको छ । त्यसले पनि नपुगेपछि अन्तिम विकल्प नेश्नल मेडिकल कलेजलाई बनाउनै पर्ने हुन्छ । अहिलेको अवस्थामा नेश्नल मेडिकल कलेजलाई नै कोरोना अस्पताल बनाउनुपर्ने भएकोले आफूहरु त्यो काममा लागेको पनि उनले सुनाए ।
उनले नेश्नल मेडिकल कलेजले हुन्छ भनेपनि वा नभनेपनि अब उक्त अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनै पर्ने बताए । आजै अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनको लागि पहल गर्दा नेश्नल मेडिकल कलेजका सञ्चालक वसुरुद्दिन अन्सारीले नमानेको कार्कीले पत्रकार धमलालाई जानकारी दिए । उनले भने, अन्सारीले आफ्नो कलेजमा कोरोना संक्रमणको विरामी राख्न मानेन । आज र भोलिबाट निर्णय नगरे हामी कारबाही गर्छौं । तर, अन्सारीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट फोन आउनुपर्ने भन्दै उल्टै धम्क्याएको पनि उनले जनाए ।
वीरगञ्जस्थित नारायणी अस्पताल कोरोना संक्रमितले भरिएपछि नअटेका १६ जनालाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ। मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमी आइसोलेसन वार्डमा राखिएको हो । नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति विद्यालयको आइसोलेसन कक्षमा सारिएको हो ।
संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरु घरमै बसेका थिए । बुधबार राति थपिएका ३ जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको छ । अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय गरेको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । File Photo