काठमाडौं, २ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि गानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समिति गठन गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएअनुसार उक्त समितिको संयोजकमा सांसदसमेत रहेका नेपालका एकमात्र डलर अर्वपति डा. विनोद चौधरी रहेका छन् र समितिमा १५ जना सदस्यहरु रहेका छन् ।
यो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ । दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।
जारी विज्ञप्तीअनुसार समितिको सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन् ।