Logo

सरकारको नीति तथा कार्यक्रम यस्तो छ



जेठ २, काठमाण्डौ । सरकारले नीति तथा कार्यक्रममा कोरोनाविरुद्धको लडाइलाई पहिलो प्राथमिकतमा राखेको छ । संघ र प्रदेशमा अत्याधुनिक अस्पताल बनाउने कार्यक्रम सरकारले ल्याएको छ । त्यसैगरी आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने लक्ष्य सरकारले लिएको छ । आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रममा सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाबाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताउनुभयो । त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । उहाले संघमा ३०० शैय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने नीति रहेको जानकारी दिनुभयो ।

संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने उहाको भनाई छ । त्यस्तै सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाइने भएको छ । हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि उहाले बताउनुभयो ।

आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताउनुभएको हो ।

त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो । विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ । यस्तै सरकारले आगामी वर्ष विश्वविद्यालको पाठ्यक्रम समयानुकुल परिवर्तन गर्ने समेत उल्लेख छ । यसैगरी, विश्वविद्यालयको अनुसन्धान कार्यक्रमलाई थप बलियो बनाउने सरकारको दाबी छ । सबै विद्यालय उमेर समूहका विद्यार्थीलाई विद्यालय भर्ना गराउने र कक्षामा टिकाउन जोड दिइने समेत सरकारको नीति हुने राष्ट्रपति भण्डारीले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ । सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ ।

सरकारका नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको दाबी गर्नुभएको छ । सामाजिक र आर्थिक प्रतिकुलतालाई सम्बोधन गर्दै सरकारले रणनीतिक पक्षहरुलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको जनाइएको छ । विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मित्र राष्ट्र तथा दातृ निकायको स्रोत साधनको क्षमता प्राथमिकता र क्षेत्र फरक हुन सक्ने भएका कारण आन्तरिक श्रोत परिचालन गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

आर्थिक क्रियाकलाय, रोजगारी सिर्जना, कृषि क्षेत्र, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिई त्यस्ता गतिविधि सुचारु गरी तिव्रता दिने जनाइएको छ । नीति तथा कार्याक्रममा स्वास्थ्य, शिक्षा, लैंगिक समानता, एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रका कार्यक्रमहरु संचालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशील सामाजिक जीवनको स्थापना गर्ने समेत जनाईएको छ ।

कार्यक्रम तथा आयोजनाहरुको पूर्ण प्राथमिकीकरण गर्ने, फजुल खर्च कम गर्ने, वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारीका क्षेत्रमा लगानी केन्दित गरिने भएको छ । सरकारले ठूला पूर्वाधारका आयोजनाहरु तोकिएकै समयमा सक्ने लक्ष्य लिएको छ । विकास आयोजना तथा कार्यक्रमहरु तोकिएको समयमै सक्ने‚ आयोजनाहरु प्राथमिकताका आधारमा छनोट गरिने जनाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो देश’ अभियान सञ्चालन गर्ने जानकारी गराइन् । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । औषधि व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गरिने भएको छ । सरकारले सडक दुर्घटना हुने राजमार्गहरुमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने भएको छ ।

हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ:

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल-1



प्रतिक्रिया दिनुहोस्