कपिलवस्तु, १० जेठ : बाणगङ्गा नगरपालिकामा आठ कोरोना सङ्क्रमित थप भएका छन् । नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । अहिलेसम्म १४ जना पुगेका छन् । नगरपालिकामा अहिलेसम्म आइसोलेशन वार्ड नहँुदा सङ्क्रतिलाई व्यवस्थापन गर्न कठिनाइ भएको छ ।
बाणगंगाका सङ्क्रमितलाई अहिलेसम्म क्वारेन्टाइनमै राखिएको नगर प्रमुख मङ्गलप्रसाद थारुले बताउनुभयो । बाणगंगा नगर स्वास्थ्य प्रमुख ठगप्रसाद पौडेलले कोरोना सङ्क्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको छुट्टाछुट्टै क्वारेन्टिनमा राखिएको बताउनुभयो ।
कपिलवस्तुमा आज पुष्टि भएका आठ कोरोना सङ्क्रमितमध्ये एक वडाध्यक्ष र एक महिला पत्रकार हुनुहुन्छ । मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ सङ्क्रमितमध्ये कपिलवस्तुका आठ छन् । यससँगै जिल्लामा कोरोना सङ्क्रमित ७७ जना पुगेको कपिलवस्तु जिल्ला अस्पातालका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । बाणगङ्गा नगरपालिकाका ४० वर्षीय वडाध्यक्ष र अर्का वाणगंगा ६ का २७ वर्षीय पत्रकार रहेको थापाले जानकारी दिनुभयो ।
बाणगंगा ३ का १९ वर्षीय, ८ का २५ वर्षीय, १० का ३५ वर्षीय र ११ का ४२ वर्षीय पुरुष एकएक छन् । बुद्धभूमि नगरपालिका ४ का १७ वर्षीया युवती एक र २२ वर्षीय पुरुष एक गरी दुई जना छन् ।
कपिलवस्तु नगरपालिका ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा ११ का २४ वर्षीय पत्रकारमा संक्रमणको पुष्टि भएको थियो । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट तीन पत्रकार पीडित भएका छन् । उनीहरुको यही जेठ ४ र ५ गते वाणगङ्गा नगरपालिका सिद्धार्थ क्याम्पस बुञ्चीबाट स्वाब संकलन गरिएको थियो ।
२५८ मा आरडिटी पोजेटिभ
कपिलवस्तुमा तीन हजार ४०६ को आरडिटी परीक्षण गर्दा २५८ मा पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकानुसार जिल्लाका १० स्थानीय सरकारमा आरडिटी पोजेटिभ देखिएको हो । जिल्लाका १९९ क्वारेन्टिनमा आठ हजार ६८२ जनालाई राखिएको छ । शुक्रबार एक हजार ४३४ लाई आरडिटी गरिएको थियो ।
कपिलवस्तुको महाराजगञ्जमा २९ जनामा आरडिटी पोजेटिभ देखिएको छ । महाराजगञ्ज ९ सिसवा र १० हर्दौनामा आरडिटी पोजेटिभ आएको हो । वडा नं ९ मा १३६ जनामा परीक्षण गर्दा १० र वडा नं १० मा १४३ लाई परीक्षण गर्दा १९ जनामा आरडिटी पोजेटिभ देखिएको छ ।
आरडिटी पोजेटिभ आएकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । महाराजगञ्जमा कुल एक हजार ६५१ जना क्वारेन्टिनमा छन । उनीहरु सबै भारतबाट आएको बताइएको छ । नगरभरि ५० क्वारेन्टिनमा तीन गर्भवती, एक अपाङ्गता र ५० बालबालिका छन् ।रासस File photo