काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रुकुम पश्चिममा भएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बसेको संघीय संसदअन्गर्तत प्रतिनिभिसभाको बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले दोषीलाई कानुनको कठघरामा ल्याएर कारबाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई नियन्त्रणमा लिएको पनि संसद्लाई जानकारी गराए । उनले बेपत्ता भएकाहरुको खोजी जारी रहेको र त्यसका लागि गोताखोरसमेत खटाइसकेको बताए ।
यो घट्नाको सत्य, तथ्य छानबिन गर्न सरकारले ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको पनि मन्त्री थापाले जानकारी दिए । उनले आजै बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका थिए ।