काठमाडौं, जेठ २६ । नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ। ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो। अंग्रेजी महिनाको जुन १० जेठ ९२७/२८० देखि सेप्टेम्बर २३ (असोज पहिलो साता) सम्मको अवधि नेपालको मनसुनी क्यालेन्डर हो। यो अवधि हेरेफेर गर्न जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाका प्राविधिक तीन दशकयताको मौसमी तथ्यांक विश्लेषणमा जुटेका छन्।
मनसुनी क्यालेन्डर हेरफेर गर्न वर्षौंअघिको मौसमी तथ्यांकलाई सूक्ष्म ढंगबाट विश्लेषण गर्नुपर्ने भएकाले प्राविधिक सो कार्र्यमा जुटेका विभागका महानिर्देशक सरजकुमार वैद्यले बताए। ‘मनसुनको स्वरूप परिवर्तन हुन थालिसकेको छ, मनसुनको सुरुवात पूर्वनिर्धारित समय आसपासमा हुने भए पनि बर्हिगमन अवधि निकैपछि धकेलिन थालेको छ’, उनले भने, ‘त्यसैले क्यालेन्डर हेरफेर गर्ने तयारी हुँदैछ।’
यसको तयारी केही समय अघिदेखि भए पनि वर्षासहित समग्र मौसमी तथ्यांक विश्लेषण गर्न समय लागेको र यस वर्षको मनसुन भित्रिने अवधि नजिकिएकाले आगामी वर्षदेखि क्यालेन्डर हेरफेर हुने वैद्यले बताएको आजको अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।