काठमाडौं, २७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् रुकुमपश्चिम हत्याकाण्डको लागि गठित संसदीय छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घट्नामा संलग्न दोषीलाई कारबाही गरेरै छोड्ने विश्वास दिलाएका छन् ।
आज (बुधबार) विहान नेपाली रेडिओ नेटवर्कबाट प्रशारण भएको नेपाली बहस नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । संसदीय छानबिन समितिको नेतृत्वको जिम्मेवारी पाएलगत्तै आफूले समितिमा रहेका सदस्यहरुसँग फोनबाटै कुराकानी गरेको पनि उनले जनाए ।
उनले भनेका छन्,’हिजो नाम सुनेपछि सबै साथीहरुसँग टेलिफोनमा कुरा गरेँ । हामी आज प्रारम्भिक भेटभाट गर्दछौं । र, कसैबाट कुनै पनि प्रभावमा नपरिकन घट्ना कसरी घटेको हो ? र, त्यसमा को-को दोषी छन् । ती दोषीहरुलाई राज्यको प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ । दोषी उम्किन पाउँनुहुँदैन भन्ने गरी हामी काम गर्दछौं । कसैको दबाबबिना निश्पक्ष छानविन गरेर ल्याउँछौं ।’
यो घट्नामा नेकपाको सरकारले अपराधीलाई बचाउने काम त गर्दैन् ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा पौडेलले भने,’बिलकुलै त्यस्तो हुँदैन । जुनसुकै पार्टीका हुन्, जुनसुकै समुदायका किन नहुन्, जाति, भाषा र लिंगकै किन नहुन् । त्यो घट्नामा सहभागी अपराधीलाई हामी छानविन गरेर कारबाही गर्नेगरी जान्छौं ।’