Logo

११ सय २५ को मृत्युमा नदुख्ने सरकार



काठमाडौं, जेठ २९ । आम सर्वसाधारणलाई घरभित्र कोच्दै वैशाख ११ गते सरकारले लकडाउन गरिदियो। अनि आफ्नो मुख्य जिम्मेवारी यति नै भन्ठान्यो। जनता छक्काउने गरी लकडाउन गर्दा आम सर्वसाधारण कुन परिस्थितिमा थिए, त्यसको कुनै मतलब भएन राज्यका निकायलाई। सरकारले कोरोना महामारी रोकथाम गर्न भन्दै गरेको लकडाउन अवधिमा यसले सिर्जित गरेको आत्महत्याको घटना भयानक छ। साढे दुई महिनाको अवधिमा १ हजार १ सय २५ जनाले आत्महत्या गरेका छन्।

दुई महिनाको अवधिमा यति धेरैले आत्महत्या गरेपछि प्रहरी प्रशासन पनि अचम्ममा परेको छ। तर, अरूबेला जस्तो आत्महत्या गर्न कोसिस गर्नेहरूलाई प्रहरीले नै सचेतना र जनचेतना बाँड्न सकेको छैन। ‘अरू अपराध शून्य जस्तै भए पनि अहिले आत्महत्या बढेको छ, यति छोटो अवधिमा यति धेरैले आत्महत्या गर्नु निकै अच्चमलाग्दो विषय हो,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले भने। उनका अनुसार सबैभन्दा बढी ८ सय ४७ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। यसबाहेक आगो लगाएर, करेन्ट लगाएर, हात हतियार प्रयोग गरेर, हाम फालेर, पानीमा डुबेर, विष सेवनलगायतबाट आत्महत्या भएको छ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक कारणले नै आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले घरमै बसिरहेको बेला आत्महत्या बढेकाले किन आत्महत्या बढ्यो भन्ने प्रश्न उब्जाएको बताए। उनले एकैठाउँ बसिरहँदा मानिसहरू तनावमा हुने, आफन्तसँग भेटघाट नहुने, रोजगार रोकिने, एक्लै बस्दा एकोहोरो हुने, घरायसी झगडा हुने, डिप्रेसनमा जानेजस्ता कारणले आत्महत्या बढेको हुनसक्ने बताए।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्