जेठ २९, काठमाण्डौ । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । भौतिक दुरी कायम गरेर सार्वजनिक यातायातलाई पनि सञ्चालन गर्न यातायत व्यवसायीहरुको माग छ । तर सर्वसाधारले कोरोनाको जोखिम बढिरहेकाले सार्वजनिक सवारी साधन संचालनमा हतार गर्न नहुनेमा जोड दिएका छन् ।
कोरोना भाइरस नियन्त्रण उन्मुख भएपछि लकडाउन हटेपछि सञ्चालन हुने सार्वजनिक यातायात के कसरी चलाउन सकिन्छ भनेर निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार पारेको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरोकारवाला निकायसँग छलफल थालेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर चाडो संन्चालन गर्नुपर्ने महासंघको माग छ ।
कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने लिने कसरी गर्ने लगायतका विषय समावेश गरिएको छ । त्यसैगरी कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ । सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर बताउँछन् ।
सरकारले बन्दाबन्दी खुकुलो बनाउनका लागि यातायातको साधन खुलाउनुपर्ने भए पनि यसबाट सङक्रमण फैलनसक्ने जोखिम रहेको सर्वसाधारणहरुको भनाई छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले भने अहिले सम्म कुनैपनि निर्णय नआएको र पहिलेकै मोटालिटीमा काम गरिरहेको बताए ।
सरकारले बिहीबारदेखि नै लागु हुनेगरी जोर बिजोर प्रणाली अनुसार निजि सवारी साधन चलाउन सकिने निर्णय गरेको छ । विभिन्न चरणमा लकडाउन खुकुलो पार्दै जाने निर्णय भएपनि सरकारले सार्वजनिक यातायतको बारेमा अन्तिम निर्णय गर्न बाँकी रहेको छ ।