काठमाडौँ ३० जेठ : हायर मी नेपालले ५० हजारलाई रोजगार दिने परियोजना सञ्चालन गर्ने भएको छ। कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट बेरोजगारको संख्या बढ्ने संभावना रहेको बेला हायर मीले यस्तो परियोजना सञ्चालन गर्ने भएको हो ।
हायर मी नेपाल परियोजनाका अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार आगामी आर्थिक वर्षको देखि परियोजना संचालन गर्ने लक्ष्य रहेको छ । यस परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको छ ।
संक्रमणको कारण बिदेशबाट आउने दश लाख,देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको हायर मी नेपालले जनाएको छ ।
सरकारले आर्थिक वर्ष वर्ष २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानीय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता,सीप र क्षमता अनुसार काम उपलब्ध गराउन “श्रम सूचना बैंकको“ अवधारणा सार्वजनिक गरेको छ ।
सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेसले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको परियोजनाका अध्यक्ष भट्टराईले जानकारी दिए
रोजगारदातालाई चाहिएको जनशक्ति पाउन महगो विज्ञापन गर्नुपर्ने,परीक्षा,अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सीप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था रहेको र समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको उनले बताए ।
देश र विदेशमा रहेको श्रमिक कामदारलेवेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पूर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।
परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरिनेछ ।
रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि श्रमिकहरूलाइ आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिने परियोजनाका अध्यक्ष भट्टराईले जानकारी दिए ।मेरोलागानी