काभ्रेपलाञ्चोक, ३० जेठ : निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय गौरवका आयोजनाले समृद्धिमा फड्को मार्ने बताएका छन् ।
बनेपा नगरपालिका–१ स्थित वडा कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै चालु आर्थिक वर्षमा सञ्चालित तथा आवका लागि विनियोजित राष्ट्रिय गौरवका योजनाले समृद्ध देश बनाउन फड्को मार्ने बताएका हुन् ।
उनले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई तीव्रता दिन देशभरका क्षेत्रमा विकासलाई प्राथमिकतामा राखेको बताए। उनले भने, “घरघरमा विकास असम्भव होला तर, विकासले हरेक क्षेत्रका घरघरमा समृद्धिको अनुभूति दिलाउनेछ ।” उनले आगामी आर्थिक वर्षका लागि सरकारले अन्य जिल्लामाझै काभ्रेपलाञ्चोकमा पनि ठूला ठूला गौरवका आयोजनाका लागि अर्बौं बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरे ।
बाँस्कोटाले राष्ट्रिय प्रतीरक्षा विश्वविद्यालय, मदन भण्डारी विश्वविद्यालय तथा बनेपा, पनौती र धुलिखेल तीन नगरलक्षित पुण्यमाता करिडोर, पाँचखाल बृहत् खानेपानी आयोजना, ललितपुरको ग्वार्कोदेखि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको कटुञ्जेसम्मको राष्ट्रिय राजमार्ग, भक्तपुरदेखि धुलिखेलसम्मको छ लेनको सडकलगायत गौरवका योजनालाई बजेट विनियोजन भएको स्मरण गरे ।
“यी राष्ट्रिय गौरवका दीर्घकालीन योजना समृद्ध काभ्रेपलाञ्चोकको सूचक हुन्”, उनले भने । चालु तथा क्रमागतमा पाँचखालको विशेष आर्थक क्षेत्र (सेज)लगायत दर्जन खानेपानीका योजनाको निरन्तरताले समृद्ध काभ्रेपलाञ्चोकमा निकै महत्व राख्ने उनले जिकिर गरे । “जलविद्युत्का पनि दुई योजना अघि बढ्दै छन्, जिल्लावासीले चिन्ता लिनुपर्दैन”, उनले भने ।
बाँस्कोटाले यसअघि आजै बनेपा नपा–४ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा स्थापना गरिएको कम्प्युटर ल्याबको उद्घाटन र बनेपा–नाला सडकखण्डमा महादेव खोलामा निर्माण सम्पन्न पुलको उद्घाटन गरेका थिए । उनले आफू सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदाका बखत सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन बनाउने अभियानअन्तर्गत काभ्रेपलाञ्चोकका ९६ विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेका थिए ।
“प्रत्येक विद्यालयमा २४ कम्प्युटरसहित ब्याकअप व्यवस्थित गरिएको छ, यस अभियानअन्तर्गत देशभरका सामुदायिक विद्यालयमा सूचना–प्रविधिलाई सहज बनाउने उद्देश्य लिएका थियौँ”, कम्प्युटर ल्याब उद्घाटनका अवसरमा बाँस्कोटाले भने । साथै, उनले निर्धारित समयमै पुलको काम सम्पन्न भएकोमा निर्माण कम्पनीलाई धन्यवाद दिएका थिए । आगामी आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा क्रमागत, विशेष र अनुदानका १०४ योजना सञ्चालन हुने उनले जानकारी गराए ।File photo