काठमाडौँ, २ असार । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन् ।
चैत ११ देखि जारी बन्दाबन्दीमा आवश्यक सेवाबाहेक सरकारी तथा निजी कार्यालय, व्यवसाय, उद्योग बन्द रहेका थिए । लामो बन्दपछि खुलेकाले कतिपय कार्यालयले व्यवस्थापन मिलाउने क्रममा बिहान १० बजे मात्र कार्यालय सुरु गरेका थिए । मङ्गलबारदेखि सरकारी कार्यालय दुई समूह (सिफ्ट)मै सञ्चालन हुने सम्बन्धित कार्यालयले जनाएका छन् ।
कोरोना महामारी नियन्त्रणमा नआइसकेकाले कार्यालयहरूमा उच्च सतर्कता अपनाइएको छ । सेवाग्राहीलाई पनि आवश्यक काम परे मात्र कार्यालय आउन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पहिलो दिन भएकाले सेवाग्राही कमै आएको जानकारी दिएका छन् । सो विभागमा यसअघि दैनिक पाँच सयभन्दा बढीले सेवा लिने गरेकामा सोमबार १० जना मात्र आएका थिए । (गोरखापत्रबाट )