Logo

सरकारी कोषबाटै विदेशबाट उद्वार गर्न सर्वोच्चको आदेश, सरकार अलमलमा



असार २, काठमाण्डौ । सर्वोच्च अदालतले वैदेशिक रोजगारी गएर अप्ठेरोमा परी नेपाल आउन चाहने नेपाली नागरिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न आदेश दिएको छ । अधिवक्त सोमप्रसाद लुईटेलसमेतले गरेको उजुरीमाथ सोमबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

आदेशमा नेपालीहरुले निजी आर्थिक उपर्जनमात्र नभई देशको अर्थतन्त्रमासमेत योगदान दिने भएकाले सरकारले कोषमार्फत नै खर्च गरी उद्धार गर्नुपर्ने कारणसमेत उल्लेख गरिएको छ ।

त्यसैगरी सर्वोच्चले सुरक्षितस्थानसम्म पु¥याउने दायित्व राज्यको भएको उल्लेख गरेको छ । सर्वोच्चले वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको हकमा श्रम गन्तव्यको मुलुकले नै कोभिड१९ को संक्रमणबाट जोगाउन र संक्रमण भइहालेको अवस्थामा निजलाई औषधोउपचार गरी सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । सरकारको उक्त व्यवस्थाविरुद्ध अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उद्वारमा अलमल :

फाइल तस्वीर

सरकारले रोजगारी लगायत विभिन्न पेशा, व्यवसाय र भ्रमणका क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि भन्दै लामो गृहकार्यपछि तालिका सार्वजनिक गर्यो । उडान भाडा महंगो भएको भन्दै चौतर्फी बिरोध भएपछि दुई चरणमा भाडादर घटाएको सरकार आफूले सार्वजनिक गरेको तालिका अनुसार उद्धार उडान गराउन समेत सकिरहेको छैन ।

विदेशी भूमिमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन भन्दै महिनौँ लामो गृहकार्य गरेर सरकारले उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गर्यो । सामान्य समयको उडान भन्दा धेरै महंगो टिकट मुल्य तोकिएको भन्दै आलोचना भएपछि सरकारले दुई चरणमा भाडा पनि घटायो । तर अहिले सरकार आफैले सार्वजनिक गरेको उद्धार उडानको तालिका अनुसार विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन सकिरहेको छैन ।

उद्धारको योजना अनुसारको काम तथा स्वदेश तथा विदेशी नियोग र सरकारसँग गर्नुपर्ने आवश्यक समन्वय अभावमा उडान प्रभावित हुँदा स्वदेश फर्किने आशामा बिदेशमा बसेका नेपालीहरु निरास बन्न थालेका छन् । सरकारले गत जेठ १६ गते विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गर्यो । मलेसिया र खाडीमा ६० हजारदेखि ९२ हजारसम्म भाडादर तोकेको सरकारले चौतर्फी बिरोधपछि भाडादर घटाएपनि अझै नियमित उद्धार तालिका अनुसार उडान भर्न सकेको छैन ।

उद्धार उडानको सरकारी कार्यतालिका अनुसार मंगलबार साउदी, कतार, यूएई र माल्दिभ्समा समस्यामा परेका नेपाली स्वदेश आउनुपर्थ्यो । तर उद्धार उडानको आशामा बसेकाहरुलाई निरास बनाउँदै नेपाली राजदूतावासले नै प्राविधिक कारण देखाउँदै उद्धार उडान रद्ध भएको जानकारी गराए । सबैभन्दा बढी नेपाली आप्रवासी श्रमिक समस्यामा परेका खाडी मुलुक र माल्दिभ्सबाट हुनुपर्ने ६ वडा उडान अहिलेसम्म रद्द भएका छन् ।

साउदीको दमामबाट असार १ गते हुने भनिएको हिमालय एअरलान्सको उडान प्राविधिक कारण देखाउँदै रद्ध गरियो । असार १ गते नै माल्दिभ्सबाट हुने अर्को उद्धार उडान रद्ध भएको थियो ।

यूएई बिहीबारका लागि तय भएको उडान पनि रद्द गरिएको छ । यसरी रद्ध गरिएको उडान कहिले हुने टुंगो लागेको छैन । कतिपय उडान नेपाल एयरलाइन्सले तोकेकोभन्दा सस्तो दरमा भएपनि अधिकांश महंगो भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ । यता, सरकार विदेशस्थित सरकार र कुटनीतिक नियोगसँगको आवश्यक समन्वय अभावमा आफैले सार्वजनिक गरेको उडान तालिका अनुसार आफ्ना नागरिकलाई स्वदेश ल्याउन समेत सकिरहेको छैन ।



प्रतिक्रिया दिनुहोस्