Logo

व्यवसायीलाई तर्साउने र असुली गर्ने विधेयकको अहिले आवश्यकत्ता छैन, अख्तियारलाई यो अधिकार दिनुहुँदैन् : काँग्रेस नेता बानियाँ



काठमाडौं, ३ असार । सरकारले महामारीको समयमा पनि व्यवसायीलाई तर्साउने र असुली गर्ने गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । बाग्मती प्रदेशका विपक्षी दल काँग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई देखाएर तर्साउने र अनधिकृत रुपमा असुली गर्ने रणनीति सरकारले अप्नाएको दावी गरेका हुन् ।

उनले सरकारको गलत नियतलाई कांग्रेसले प्रतिकार गरेर सफल हुन नदिने चेतावनीसमेत दिएका छन् । नेकपा नेतृत्वको सरकार आर्थिक अनुशासनभन्दा धेरै बाहिर गएको उनको भनाई छ ।  पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता बाँनियाले निजि क्षेत्रको आर्थिक कारोवारलाई नियन्त्रणमा लिन अख्तियारलाई त्यसको अनुसन्धान र कारवाही गर्ने जिम्मा दिन लागेको बताए ।

उनले अख्तियारलाई नयाँ जिम्मेबारी दिनेगरी गलत नियतका साथ ल्याउन लागेको विधेयकसरकारले फिर्ता नलिए कांग्रेसले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  बानियाँले भने,‘बजेटमा निजि क्षेत्रलाई केहि छैन, उल्टै कारवाही गर्छु भन्नु निजि क्षेत्रलाई त्रसित बनाएर असुली गर्ने रणनीति हो, यो विधेयकको अहिले आवश्यकता छैन, अख्तियारलाई यो अधिकार दिनुहुदैन ।’

बाग्मती प्रदेश सरकारले ल्याएको बजेटलाई हावादारी र अव्यवहारिक भएको भन्दै विपदको समयमा ५१ अर्बको बजेट बनाउनु अर्थहिन भएको उनको टिप्पणी रहेको छ । अहिलेको राजश्वले चालु खर्च पनि धान्ने अवस्था नरहेकाले अधिकांश कार्यक्रम कार्यान्यन नहुने नेता बाँनियाले दाबी गरे।

उनले कांग्रेसले प्रदेश सभाका सांसदले पउने सुविधा ३३ प्रतिशत घटाउन सुझाव दिएको तर, सरकारले उल्टो सुविधा थपेर बजेट ल्याएको दावी गर्दै कोरानाले आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभावलाई बजेटले कम गर्ने प्रयास नगरेको आरोप लगाएका छन्। फोस्रा आश्वासन मात्रै बाड्दै आएको सरकारले जनतालाई पशु भन्दा पनि तल्लो तहमा राखेको उनको भनाई छ ।

बाँनियाले भने, “सांसदलाई दिने रकम कटौती गर्नुपर्ने थियो । सरकारले गरेन । आर्थिक अवस्था चौपट हुने अवस्था छ । गरिवका पक्षमा बजेट आएन । यो सरकार जनताको पक्षमा भएन । यसलाई साथ दिनुको काम छैन । प्रतिपक्षले सरकारलाई यत्रो साथ दिएको अवस्थामा पनि सरकार गैरजिम्मेवार बन्यो ।”

अहिले कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको बताउँदै उनले जनतालाई पशुलाई जति पनि सुविधान दिन नसक्ने सरकारले के गर्छ भनेर प्रतिप्र्रश्न समेत गरेका छन् । युवाहरुको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “अति भएपछि जनता सडकमा आएका हुन ।”



प्रतिक्रिया दिनुहोस्