काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन् ।
बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट आउन सक्छ भनेर बेलैमा सजग गराउँदा पनि सरकारले सुझाव नसुनेको राणाको भनाइ छ ।
‘बजेट पेश हुनु अगावै मैले सरकारलाई अब आउने संकटबारे सचेत गराएको थिएँ । बन्दाबन्दीको कारण भंसारबाट उठ्ने राजस्व घट्छ भनेकै थिएँ । राजस्वको मूल स्रोत सुकेपछि पर्ने संकटबारे सरकारलाई सजग रहन आग्रह गरेको थिएँ,’ उनले मंगलबार ट्वीट गर्दै भने । ‘तर बजेटले त्यो गंभीर समस्या बेवास्ता गर्यो, देश टाँट पल्टाउने बिउ रोप्यो ।’
विकसित घटनाक्रमप्रति टिप्पणी गर्दै राप्रपा अध्यक्ष राणाले भने, ‘राज्य संचालनको मासिक आवश्यक्ता ४० अर्ब रुपैयाँ छ । भंसारबाट १५ अर्ब, आन्तरिक राजस्वबाट केही अर्बमात्र संकलन हुने अवस्था छ ।’
सरकारकै असावधानीका कारण समस्या गंभीर बनेको भन्दै उनले भने, ‘यसैले ठूलो आर्थिक संकट सामना गर्नु परेको भन्दै अर्थमन्त्री बिलौना गर्दैछन् । बजेट ल्याउँदा सुकूल गुण्डा तवरले डम्फू फुक्ने, अहिले समय घर्केपछि पछुताएर काम छैन ।’