Logo

लदाखमा सैनिकहरु नदीमा खसालिएका थिए



एजेन्सी, ३ असार । भारत र चीनबीच लदाखमा सोमबार भएको झडपका क्रममा न गोली चल्यो न बारुद । दुई देशबीचको सम्झौता अनुसार सिमामा एक गोली पनि चलाउन पाइँदैन । तर, झडपका क्रममा ठुलै हताहती भयो ।

भारततर्फ मात्र २० सैनिकको ज्यान गयो । चीनतर्फ कति जनाको ज्यान गयो स्पष्ट छैन । भारतले हिजो मृत्यु भएका एक कर्णेलसहित तीन सैनिकको परिचय खुलाएको थियो । राति अबेर थप १७ जनाको ज्यान गएको खुलाएको थियो ।

इन्डियन एक्सप्रेसले सुरक्षा अधिकारीलाई उदृत गर्दै ज्यान गुमाएका सैनिकहरुमध्ये कतिपयको शव नदीबाट निकालिएको खबर प्रकाशित गरेको छ । गलवान क्षेत्रमा भएको झडपमा ढुंगा हानाहानका क्रममा कतिपय सैनिक गलवान नदीमा खसेका थिए । उनीहरु विभत्स तरिकाले मारिएको उल्लेख छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंह बुधबार गलवानको घटनालाई दुःखद र हृदयविदारक भनेका छन् । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छैनन् । उनले शुक्रबार सर्वदलीय बैठक डाकेका छन् । भारतले चाल्ने कदमबारे यसबारे छलफल गर्ने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्