Logo

कोरोनाको औषधी डेक्सामेथासोन प्रभावकारी रहेपनि साइड एफेक्ट खोजिदै



एजेन्सी, ३ असार । बेलायतमा कोरोना सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले जनाएका छन् । मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस सङ्क्रमित विरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ ।

बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका सङ्क्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले जनाएका छन् ।

अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार “मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नु परेका कोभिड–१९ सङ्क्रमित ३५ प्रतिशत विरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको सङ्क्रमणलाई निको पारेको थियो ।”

डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ सङ्क्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।

यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोनाभाइरस सङ्क्रमित करिब चार हजार विरामीलाई गरिएको थियो ।

अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग सङ्क्रामक रोगविज्ञ प्राध्यापक पिटर होर्बीले भने, “डेक्सामेथासोन कोभिड–१९ सङ्क्रमित विरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको छ । यो स्वागतयोग्य नतिजा भएको छ ।”

“डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहजरूपमा पाइने जटिल विरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि हो,” उनले बताए ।

तर, दूई चर्चित सञ्चारमाध्यम दि ल्यासेट र दि इन्ल्याण्ड जर्नल अफ मेडीसीनले डेक्सामेथासोन कोरोनाविरुद्व कम समयमै प्रभावकारी भएपनि दीर्घकालिन रुपमा कस्तो असर पर्ने विषय अनुसन्धाको क्रममा रहेको जनाएको छ । सञ्चारमाध्यमले लेखेको उक्तले नयाँ चुनौती थपिएको छ । औषधीको अनुसन्धानको कागज सम्बन्धीत निकायमा जारी नै नगरीकन औषधीको प्रभाव साकारात्मक देखिएको भन्दै पत्रकार सम्मेलन माफर्त जानकारी दिएको अस्वीकार्य रहेको प्रभावशाली सर्जन र लेखक डा. अतुल गावडेंले जनाएका छन् ।

हाइड्रोक्सीक्लोरोक्वाइनको सुरुवाती परिक्षणमा औषधी प्रभावकारी रहेको बताइएको थियो । तर, परिक्षण पश्चात औषधी नाकारात्मक देखिएको थियो । पूर्ण परिक्षण पश्चात मात्रा पत्रकार सम्मेलन मार्फत जानकारी दिन वैज्ञानिकहरुको आग्रह रहेको छ । डेक्सामेथासोनको नाकारात्मक पक्ष देख्न बाकी रहेकोे जनाइएको छ । टाइम म्यागाजिनको सहयोगमा



प्रतिक्रिया दिनुहोस्