काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम घट्ना दुःखद् भएको बताएका छन् । र, दोषीहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै उनले भने,’त्यसमा सरकारमाथि हमला गर्नुपर्ने विषय हो र ? त्यसभित्र अनेक अनुचित सोच होलान्, फिलिङ्स होलान् । भावना होलान् । गलत क्रियाकलाप हुँदै हो । कसरी भयो ? के भयो ? जसरी भएपनि मानिस मारिए । त्यसमा सरकारमाथि हमला गर्नुपर्ने विषय ? सरकारले त्यहाँ घटना घटाएको हो र ?’
रुकुमपश्चिम घट्ना अपराधिक भएकोले यसमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको र सोहीअनुसार कदम चालेको उनले जनाए । सरकारले अपराधीलाई कारबाही गर्ने भनेर बोलिसक्दापनि सरकारको आलोचना गरेको भन्दै उनले गुनसाो पोखे । उनले सरकारले उक्त घट्नामा संलग्न भएकाहरुलाई पक्राउ गरेको र मुद्दा चलाएको स्मरण गराए । उनले उल्टै प्रश्न गरे,’सरकारले अपराधी बचाउन खोजेको छ र ? गिरफ्तार गर्न लापरबाही गरेको छ र सरकारले ? अथवा यो घट्ना हुनु राम्रो भयो भनेको छ र सरकारले ? अथवा सामान्य घट्ना हो भनेको छ र सरकारले ? यस्तो हुनु ठूलो कुरो होइन भनेको छ र सरकारले ?’
उनले सरकारले उक्त घट्नामा सरकारले तुरुन्त कदम चालेको र सुरक्षा निकायले मान्छेहरु गिरफ्ता गरेको सुनाए । उनले भने,’अपराधी गिरफ्तार गरिएको छ । छानबिन गरिएको छ । अझ गम्भिरताका साथ संसदले छानबिन समिति बनाएर संसदीय छानबिन समितिपनि मैदानमा, कहीँ सरकारी तवरबाट मात्रै छानबिन उपयुक्त हुँदैन की ? अझ संसदीय छानबिनपनि आवश्यक र उपयुक्त छ कि भन्ने भएपछि हामीले संसदीय छानबिन समिति गठन गरेका छौं । अनि यसमा सरकारको आलोचना गर्नुपर्ने ठाउँ कहाँनिर छ ?’ तस्विर : संसद सचिवालय