काठमाडौं, असार १४ । विनाशकारी सलह नेपाल भित्रिए पनि नियन्त्रण गर्ने योजना बनिसकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रणनीति तय गर्न आइतबार छलफल गर्दै छ । कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह भित्रिएपछि संघ, प्रदेश र स्थानीय तहबीच पर्याप्त संवाद र सहकार्य भइरहेको दाबी गरे । उनका अनुसार सलहको अवस्था, फैलावट बुझ्न र क्षति आकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ ।
सलहले भारतमा आतंक मच्चाइरहँदा यहाँ पनि आउन सक्ने आकलन गर्दै मन्त्रालयले जेठ १३ गते नै प्राविधिक कार्यदल गठन गरेको थियो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरूसहित राखेर बनाइएको टोलीले नेपालमा सलह भित्रिने सम्भावना न्यून देखिएको प्रतिवेदन बुझाएको थियो । ‘मनसुन सुरुसँगै पूर्वबाट पश्चिमतर्फ बहने मनसुनी हावाले गर्दा यी झुन्ड पुनस् राजस्थानतर्फ मोडिई गर्मी मौसमको वंशवृद्धि सुरु गर्ने आकलन गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।
मनसुन सुरु भएपछि सलह नआउने अनुमान गरेर नियन्त्रणका लागि सरकारले तयारी गरेको थिएन । तर प्रतिवेदन तयार भएको एक महिना नबित्दै तराईलगायत विभिन्न जिल्लामा सलह देखिएको आजको कान्तिपुर दैनिकमा खवर छ ।