Logo

दाहालको निर्णय क्षमतामाथि ओलीको प्रश्न



काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेसँगै विवाद चुलिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीमाथि राजीनामा दिनुपर्ने दबाब दिँदै आएका छन् ।

तर, ओलीले भने आफूले दुवै पदबाट राजीनामा नदिने भन्दै हिम्मत भए हटाएर देखाउन चूनौति दिएका छन् । ओलीले पार्टीका कोही पनि नेताहरुसँग सल्लाह नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिएर विपक्षीमाथि दबाब बढाएका छन् । पार्टीको सबै मोर्चामा ओली अल्मपतमा रहेको दाबी गर्दै आएको दाहाल–समूह नै यतिवेला बरु रक्षात्मक बन्न पुगेको छ । ओलीले अध्यादेश ल्याएर दल विभाजन नै गर्ने हुन कि भन्ने आशंका र द्धिविधा दाहाल समूहलाई परेको छ । अल्पमतमा रहेका भनिएका प्रधानमन्त्री ओली भने आक्रामक बन्दै गएका छन् ।

पार्टी विभाजन नै हुने खतरा देखेपछि नेकपाका आम नेता तथा कार्यकर्ताहरु यतिवेला नेतृत्वमाथि कुनैपनि हालतमा पार्टी फुटाउन नहुने भन्दै मिलेर अघि बढ्न दबाब सिर्जना गर्दैछन् । केन्द्रीय सदस्यहरुले त पार्टी मुख्यालय धुम्बाराहीमा पुगेर धर्नासमेत दिएका छन् । यता, दुवै समूहका दोस्रो तहका नेताहरुले पनि अहिलेको समस्याको समाधानको लागि निकास निकाल्नेगरि गृहकार्य गरिरहेका छन् । दोस्रो तहका नेताहरुको तर्फबाट संयोजनकारी भूमिका भने कृषिमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले गरिरेहका छन् । उनी माधव नेपाल निकट मानिन्छन् । उनले यो बीचमा दुवै अध्यक्षलाई भेटेर सहमति पहिल्याउन सूत्र दिएको बुझिएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच एक्लाएक्लै भेटवार्ताहरु भैरहेका छन् । तर, ओलीले दुवै पद छोड्न आफू तयार नभएको अडान दोहोर्याएपछि भेटवार्ता सकारात्मक बनेको छैन् । दाहाल–नेपाल समूह अलिक लचिलो बनेर दुईमध्ये एक पद छोडेपनि सहमति गर्ने पक्षमा पुगेको छ । तर, ओलीले आफूले कुनैपनि हालतमा प्रधानमन्त्री नछोड्ने अडान लिएका छन् । दाहाल भने बरु अध्यक्षमा ओलीलाई यथावत राख्ने तर प्रधानमन्त्रीबाट जसरी भएपनि हटाउने रणनीतिमा छन् । दाहाललाई ओलीले एक्लाएक्लैको भेटवार्तामा समेत आफू क्लियर रहेको तर तपाई क्लियर हुन अरु नेताको भर पर्नु परेको भन्दै अनिर्णयको बन्दी बनेको आरोप लगाएका थिए ।

उनले आफूमा निर्णय लिने कुरामा कुनै समस्या नभएको सुनाउँदै दाहाललाई त निर्णय लिनुपर्दा बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसँग सल्लाह गर्नुपर्ने बाध्यता रहेको आरोप लगाएका थिए । दुई अध्यक्षबीच आजपनि घण्टौं छलफल भएको छ । तर, सहमति भने निस्किएको छैन् । दुई अध्यक्षबीचको छलफल सहमतिउन्मुख रहेको नेताहरुको दाबी छ । दाहालले ओलीसँग अझै एक्लाएक्लै भेटवार्ता गर्न आवश्यक रहेको बताएका छन् । स्थायी कमिटीको बैठक असार २४ गते बस्नेगरि स्थगित् गरिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्