Logo

१४औं महाधिवेशन ७–१० फागुनमा



काठमाडौं, असार २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६ गतेको केन्द्रीय समिति बैठकबाट कांग्रेसले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेको थियो ।

सोमबारको बैठकले भने संशोधित सबै तहका कार्यतालिकालाई पारित गर्दै केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै गर्ने निर्णय गरेको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट अन्य तहका अधिवेशनका कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए ।

‘१४औं महाधिवेशन ७ देखि १० फागुनमा तोकिएकै मितिमा गर्ने गरी अन्य तहका परिमार्जित कार्यतालिका समेत बैठकले पारित गरेको छ,’ नेता श्रेष्ठले बैठकपछि राजधानीसँग भने । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेको हो ।

जसअनुसार १५ असारभित्र सक्ने भनिएको कांग्रेसको अन्तरिम संरचना समायोजनको सबै काम अब १५ साउनसम्ममा सक्ने निर्णय भएको छ । यसअघि कांग्रेसले गत फागुनमा नै संरचना समायोजनको काम सक्ने निर्णय गरेको थियो ।

यस्तै, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्रै सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन भएको छ । यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्