Logo

ओलीसँग कुरा नमिलेपछि बहुमतको ‘फायर’ खोल्ने प्रचण्डको तयारी, नेपाल-खनालको साथ !



काठमाडौं, २४ असार । पार्टीभित्र चुलिएको आन्तरिक विवादबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिको खातिर भैरहेका पछिल्ला प्रयास खेर जाने भएको छ । असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठक यही कारणले प्रभावित बन्दै आएको छ । स्थायी कमिटी बैठकको पहिलो दिनमै अध्यक्ष दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

उनीहरुले अब ओलीबाट पार्टी र सरकार दुवै चल्न नसक्ने निश्कर्ष निकालेका छन् । र, उनीहरु अहिलेपनि त्यही अडानमा छन् । तर, ओली पक्षले भने अहिले ओलीले दुवै पदबाट राजीनामा नदिने र बहुमतको डण्डा चलाए पार्टी एकता नै खतरामा पर्ने चेतावनी दिएको छ । ओलीविरुद्ध अहिले दाहाल-नेपाल समूह खरो उत्रिएको छ । ओलीलाई अहिले राजीनामा दिन बाध्य पार्ने रणनीति लिएर यो समूहका नेताहरु टसमस भएका छैनन् ।

स्थायी कमिटीको पाँचौ बैठकको सुरुवातमा ओलीको राजीनामा माग्ने एजेण्डा थिएन् । तर, ओलीले असार १४ गते स्वर्गीय मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतले षड्यन्त्र गरिरहेको र भारतको यो खेलमा नेकपाकै नेताहरु लागिपरेको दाबी गरेपछि स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ओलीको राजीनामा माग गरेर विषय प्रवेश गराए । उनले बैठकको सुरुवातमै बोल्दै नियमित एजेण्डाभन्दा अलिक पृथक विषयमा छलफल गर्न आवश्यक भएको भनेर ओलीको अभिव्यक्तिमा आपत्ति जनाउँदै राजीनामा भारतले नभई आफूले मागेको बताए ।

दाहालले बोलेपछि बरिष्ठ नेताहरु खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले पनि ओलीको राजीनामा गरे । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीको राजीनामालाई मुख्य विषय बनाएपछि ओलीले बैठक नै बहिष्कार गरेका थिए । आफूलाई दाहाल-नेपाल समूहले हटाउन लागेपछि ओलीले बैठक छल्ने काममात्रै गरेनन् । आफूविरुद्ध दाहाल-नेपाल समूहले चाल्न सक्ने कदमलाई आँकलन गरेर त्यसमा बाधा पुर्याउने निर्णय गर्दै गए । त्यसकै कडीको रुपमा संसदको बजेट अधिवेशन अन्त्यलाई मान्न सकिन्छ । ओलीले पार्टीका नेताहरु त परै जाउन्, आफ्नै क्याविनेटका प्रभावशाली मन्त्रीहरुलाई समेत यसबारेमा सुईकोसमेत दिएनन् । स्थायी कमिटी बैठक चलिरहेकै अवस्थामा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पटक-पटक भेटे ।

स्थायी कमिटी बैठकको दौरानमै प्रधानसेनापतिदेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिसँग भेटेर ओलीले दलभित्रको आफ्नो विपक्षीहरुमा दबाब सिर्जना गरे । उनले आफूलाई बहुमतको आधारमा हटाउन खोजिए अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको चेतावनी दिएपछि दाहाल-नेपाल समूह सशंकित बन्दै सहमतिको प्रयासमा देखियो । ओलीले यही मौका छोपेर आफूलाई झनै शक्तिशाली बनाउँदै लगेका छन् । त्यसको पुष्टि स्वयम दाहाल-नेपाल समूहले ओलीलाई दुवै पदबाट हटाउने अडानबाट ब्याक भएर अब प्रधानमन्त्रीबाट मात्रै राजीनामा दिएपनि मान्ने सन्देश बालुवाटारलाई दिएर गरिसकेको छ ।

स्थायी कमिटीको बैठक पछिल्लो समय स्थगित् हुँदै आएको छ । नेताहरुले अध्यक्षद्धय ओली र दाहालबीच सहमति खोज्नको लागि बैठक स्थगित् गरिएको दाबी गर्दै आएका छन् । हुन त दुई अध्यक्षबीच बालुवाटारमा पटक-पटक छलफल तथा वार्ता भैरहेका छन् । दुवै समूहका नेताहरुले जनाएअनुसार दुई अध्यक्षबीच अझैसम्म ठोस सहमति बनेको छैन् । ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान दाहाललाई सुनाउँदै योभन्दा बाहेकका विषय भए सहमति गर्न सकिने अडान दोहोर्याएका छन् । तर, दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर अघि बढ्न ओलीलाई आग्रह गरेको बुझिएको छ ।

दाहाल आजपनि ओलीसँगको वार्ताको लागि बालुवाटार गएका थिए । तर, दाहालले आज अन्य विषयमा भन्दापनि सडकमा ओलीको पक्षमा भैरहेका प्रदर्शन रोक्न आग्रह गरे । यसमा उनले आफ्नो आपत्ति सुनाएका थिए । तर, ओलीले आफ्नो नेतालाई हटाउन षड्यन्त्र भैरहेकोले युवा तथा विद्यार्थीहरु सडकमा आएकोले यो जायज नै भएको भन्दै प्रदर्शनको बचाउ गरेका थिए ।

अध्यक्षद्धयबीचको आजको छलफलले सहमतिको सम्भावना अब टरेको नेकपानिकट उच्च स्रोतले दाबी गरेको छ । दाहालले पनि बालुवाटारबाट फर्किएलगत्तै नेपाल, खनाल र गौतमसँग परामर्श गरेको बुझिएको छ । उनी अब सहमतिको लागि धेरै दिन नकुर्ने पक्षमा पुगेका छन् । अब स्थायी कमिटीको बैठक सूचारु गर्ने र त्यही बैठकबाट ओलीलाई दुवै पदबाट हटाउनेबारे निर्णय गराएर जानेमा दाहाल-नेपाल समूह पुगेको स्रोतको दाबी छ ।

सहमतिको लागि अधिकतम प्रयास र लचकता अपनाउँदापनि ओलीले नटेरेकोले अब उनीविरुद्ध बहुमतको फायर खोलेरै अघि बढ्नुपर्ने अन्तिम निश्कर्षमा दाहाल पुगेको स्रोतको दाबी छ । दाहाललाई स्थायी कमिटी बैठक सूचारु गर्न र त्यही बैठकबाट ओलीलाई हटाउने निर्णय गर्न नेताहरुले सुझाव दिएका छन् । स्थायी कमिटीको बैठक यही असार २६ गते विहान बजेलाई बोलाईएको छ । अब बैठक स्थगित् नगर्ने र ओलीलाई नकुर्ने दाहाल नेपाल समूहको तयारी छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्