काठमाडौं, साउन २ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा भएको दुर्घटनाबारे छानबिन गर्न गठित टोलीले सुरुङको ढोका बन्द गर्न लगाइएको नटबोल्टमा समस्या आएका कारण सो दुर्घटना भएको प्रारम्भिक जानकारी पाइएको जनाएको छ ।
खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको समयोजकत्वमा गठित विज्ञहरूसहितको समितिले आजैबाट स्थलगत अध्ययन सुरु गरेको छ ।सात दिनभित्र प्रतिवेदन दिन गठित समितिका संयोजक दवाडीले भे, ुहामीले ठूलै क्षति भएको छ कि भन्ने सोचेका थियौँ तर सो घटनामा सुरुङमा कुनै क्षति भएको पाइएन ।
उनले भने “मेलम्चीको मुख्य सुरुङपछि कुनै मर्मत गर्नुपरेमा गाडीसमेत जान सक्ने गरी बनाइएको एक्सेस सुरुङको घरको एक पल्ला भएको ढोकाजस्तै फलामको खापा रहेको र एकातर्फ कब्जाहरू रहेको अर्कातर्फ ३० वटा नटबोल्टले टाइट गरिएको रहेछ । त्यसमा पानीको प्रेसरले बोल्टहरू स्लिप भएर ढोका खुलेको देखियो । ढोकाको पल्ला पनि जस्ताको तस्तै छ । खाली नटले काम नगरेको पाइयो ।”
उनको टोलीले स्थलगत अध्ययन गर्नुका साथै डिजाइनहरू पनि जाँच गरी प्रतिवेदन तयार पार्नेछ । सो सुरुङको ढोका भारतीय कम्पनीले निर्माण गरेको र त्यसलाई डेनिस कम्पनीले पास गरेको थियो । परीक्षणका क्रममा मङ्गलबार सुरुङको १७ नम्बर ढोका एक्कासि खुल्दा पानीले बगाएर दुई जना घाइते भएका थिए भने एक जनाको मृत्यु भएको छ र अर्का एक जना अझै बेपत्ता छन् । गोरखापत्र दैनिकबाट