काठमाडौं, ४ साउन । देशभर रहेका पुराना एवं रुग्ण पुलहरुको अवस्थाको विवरण तयार गरी कार्ययोजनासहित निर्माण प्रक्रिया सुरु गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले णनीतिक सड्क अन्तर्गत रुग्ण पुलहरुको अवस्था सम्बन्धी विवरण तयार गरी बित्तीय सुनिश्चिता सहित गुणस्तरीय रुपमा तोकिएको समयभित्र त्यस्ता पुलहरुको कार्ययोजना सहित शीघ्र निर्माण प्रक्रिया सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले निर्माण सम्पन्न भएको काठमाडौंको टेकस्थित बिष्णुमति नदीको पुलमा प्राविधिक पक्ष एवं गुणस्तमा कमजोरी भएको ठहर पनि गरेको छ भने काठमाडौंको तीनकुनेस्थित बागमती पुल, हुलाकी राजमार्ग अन्तर्गतको बागमती पुल, रौतहटको टिकुलिया र समनपुर पुल लगाएतका केहि पुलहरुको प्राविधिक पक्ष र गुणस्तरमा कमि भएको अवस्थामा सम्बन्धित पक्षलाई कारबाही भएको सम्बन्धी विवरण उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिईन् ।
उनले आवश्यक जनशक्ति परिपूर्ति गर्न मन्त्रालयबाट तयार गरिएको ओएनएम रिपोर्ट तत्काल स्वीकृत गरी मन्त्रालयको कामकाजमा सहजता र सिघ्रता ल्याउने वातावरण तयार गर्न पनि सरकारलाई निर्देशन दिइएको जानकारी दिईन् ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री नेम्वाङेले पुल निर्माणमा समस्या देखिएको भन्दै यसमा मन्त्रालय गम्भीर रहको बताए । केही वर्ष पहिलेसम्म झोलुङ्गे पुल भए पुग्ने स्थानमा अहिले दुई लेनको सडक पुल आवश्यक भएको नेम्वाङले जानकारी दिए ।
बैठकमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुलका नयाँ योजना थप्नेभन्दा भएकै योजना पूरा गर्नुपर्ने देखिएको बताए । बैठकमा सांसदहरुले मुलुकभर पुल निर्माणमा ढिलाई भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम