Logo

सहमति खोज्न दुई अध्यक्ष सघन छलफलमा



काठमाडौं, साउन ५ । नेकपामा देखिएको संकट निवारण गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार सघन छलफल भएको छ । सहमतिको मिलनबिन्दु खोज्न अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा बढी छलफल भए पनि ठोस निकास भने निस्कन सकेको छैन ।

दुई अध्यक्षबीच सहमति खोज्ने उद्देश्यले सोमबार पुनः छलफल गर्ने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको छलफलमा अध्यक्ष ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र अर्का अध्यक्ष प्रचण्डका तर्फबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकार पनि सँगै थिए ।

दुई अध्यक्षबीचको सहमतिबाटै समस्या समाधान हुने भएकाले अध्यक्षद्वयबीचको वार्ता र संवादलाई निरन्तरता दिइने निर्णय भएको नेताहरूले बताएका छन् । सोही निर्णयअनुसार दुई अध्यक्षले सोमबार पनि सघन छलफल गरी सहमतिको वातावरण बनाउने नेताहरूले बताएका छन् । दुई अध्यक्षबीच विगत केही दिनदेखि निरन्तर छलफल हुँदै आइरहेको छ ।

शनिबारको सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल भएको थियो । सचिवालय बैठकमा मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव ओलीले गरेपछि दाहालले मौन समर्थन गरेका थिए । महाधिवेशनसँगै सबै विवादको समाधान गर्ने सहमति भएको विश्वास गरिए पनि आइतबार दाहालले मंसिरमा महाधिवेशन गर्ने बारेमा आफ्नो समर्थन नरहेको जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच नै सहमति हुन नसक्दा नेकपाको जारी स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ । आइतबार बस्ने भनिएको बैठक अध्यक्षद्वयबीच सहमति नभएका कारण स्थगित भएको थियो । अर्को बैठक मंगलबार बोलाइएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्