Logo

झलनाथ-बामदेव गुट फेरि सक्रिय, ओलीको संकट टर्ने सम्भावना



काठमाडौं, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम फेरि नजिक आइपुगेका छन् । तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन निर्णायक भुमिका खेलेको झलनाथ खनाल र बामदेव गौतमको गुट सक्रिय भएको हो ।

गौतमकै पहलमा खनालले अन्तिम समयमा ओलीलाई साथ दिदा अध्यक्ष बन्ने सफलता हासिल गरेका थिए । तर, त्यत्रो साथ दिदा पनि आफूहरुलाई उल्टै बेवास्ता गरेको भन्दै खनाल र गौतम दुवै रुष्ट छन् । दुवै नेताहरु ओलीको राजीनामा मागिरहेको प्रचण्ड र माधवकुमार नेपालसहितको समुहमा देखिएका छन् ।

नेकपाभित्र संकट गहिरिएर फुटको अवस्था बनेपछि खनाल र गौतम दुवैले सम्हालिएर बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरु दुवै बरु अर्ली महाधिवेशन गरेर विस्तारै ओलीको विकल्प खोज्नेतर्फ लाग्नुपर्ने पक्षमा उभिएका छन् । अहिले कोरोना भाइरसको महामारी र प्राकृतिक विपत्तिको बेलामा हटाइहाल्न लाग्दा गलत सन्देश जाने भएकाले केही समय पर्खनुपर्ने पक्षमा छन् ।

खनाल र ओली अहिले नै माधव नेपाललाई बलियो बनाइहाल्ने पक्षमा छैनन् । ओलीको विकल्प खोज्दा पूर्व एमाले हुनाले नेपाल बलियो हुने देखिएबाट दुवै नेता हच्किएका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड पनि जोस्सिएर बढिहाल्न नचाहनुमा ओली हटाउँदा को भन्ने प्रष्ट नहुनुले पनि हो भन्ने बुझिएको छ । ओली हटेमा माधव नेपाल बलियो हुनसक्ने उनको पनि बुझाई छ । स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामै छ । बरु प्रचण्डका विश्वासपात्र भनिएकाहरु ओली समुहमा गएको देखिएको छ । ओली हटेमा पूर्व एमाले भएकाले माधव नेपालकै पल्लाभारी हुनसक्ने बुझाई प्रचण्ड पक्षको छ । त्यसैले उनी अहिलेलाई ओलीसँग लेनदेन गरेर बढ्ने मनशायमा देखिएका छन् । यसबारे यसै हप्ता आफ्नो गुटमा परामर्श गरिसकेका छन् ।

नेकपाभित्र चार गुट स्पष्ट देखिइसकेको छ । तीन गुटमा नेताहरु एक्ला एक्लै छन् भने अर्को गुटमा खनाल र गौतम एकसाथ देखिएका छन् । अब खनाल र गौतमको संयुक्त गुटमा पूर्व एमालेका दोस्रो पुस्ताका उदीयमान नेताहरु छन् । अब यही गुट निर्णायक बन्न सक्ने अवस्था बनेको छ । यही गुटले विगतमा माधव नेपाललाई हराएर ओलीलाई अध्यक्ष बनाएजस्तै यसपटक पनि सत्ता संकट टार्न भुमिका खेल्ने सम्भावना बलियो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्