काठमाडौं, ८ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई आगामी महाधिवेशनमा अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । स्रोतले दिएको जानकारीअनुसार ओलीको यो प्रस्ताव लिएर उनका विश्वासपात्रहरु गत मंगलबार नेता गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए । प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु गौतमलाई भेट्न पुगेका थिए । र, उनीहरुले आगामी महाधिवेशनमा अध्यक्ष बनाउने ओलीको प्रस्ताव सुनाएका थिए ।
पार्टीभित्र शक्ति–संघर्ष चलिरहँदा ओली पक्षले नेता गौतमलाई आफ्नो पक्षमा तान्नको लागि हरसम्भव प्रयास गरिरहेको छ । पछिल्लो समय नेता गौतम अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको समूहमा नजिक छन् । ओलीको प्रस्तावमा नेता गौतमले ‘छलफल गरौंला’ भन्नेमात्रै जवाफ दिएका थिए ।
गत असार १० गतेदेखि सुरू भएको पार्टीको स्थायी कमिटीको बैठकमा नेताहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले भने कुनैपनि हालतमा आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । यही रस्साकस्सीबीच स्थायी कमिटीको बैठक साउन १३ गते बस्नेगरि स्थगित् भएको छ ।
भर्खरै बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका छन् । र, उक्त प्रस्तावमा अर्का अध्यक्ष दाहालको पनि समर्थन रहेको कुरा बाहिर आएको छ । सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वय ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।