काठमाडौं, ८ साउन । पत्नी हत्यामा दोषी ठहर भई जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला आज थुनामुक्त भए । दाह्री पालेका रञ्जनले थुनाबाट निस्कँदा मुखमा मास्क लगाएका थिए । उनलाई लिन कालो रङ्गको कारमा सेतो बुट्टेदार पोशाकमा एकजना महिला पुगेकी थिइन् ।
महिलाले मुखमा मास्क लगाएकी थिइन् । अधवैंशे महिला उनको प्रेमिका तारा रेग्मी हुन् । रञ्जन थुनामा बसेको साँढे आठ वर्ष रेग्मी पुगिरहन्थिन् ।
पत्नी गीता ढकालको हत्यापछि रञ्जनलाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएकोमा सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो । उनले साँढे ११ वर्ष कैद छुट पाएपछि छिट्टै थुनामुक्त हुन पाएका हुन् । यसबारे धेरैको चासो परेको छ । पत्नी हत्याका दोषीलाई कैद सजाय घटाउने अदालतको फैसलाको समेत आलोचना भइरहेको छ ।
साँढे ८ वर्ष अघि तत्कालिन सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगेर जलाएर जङ्गलमा फालिदिएका थिए । उनको घरायसी विवाद भइरहने गरेको खुलेको छ । सशस्त्रको आइजीपी बन्ने लाइनमा हुँदा तत्कालिन डिआइजी रञ्जनको करिअर नै समाप्त भएको थियो ।